काठमाण्डौ । उद्योग–प्रतिष्ठानहरुभित्र हुनसक्ने हिंसा र दुर्व्यवहारलाई निरुत्साहित गर्न औद्योगिक क्षेत्रका ठूला उद्योग प्रतिष्ठान, व्यावसायिक फर्म र रोजगारदाता एवं स्वरोजगार व्यवसायका सञ्चालक र माथिल्लो तहका कर्मचारीको सहभागितामा कार्यशाला गोष्ठी  गरिएको छ।

अन्तर्राष्ट्रिय श्रम संंगठन नेपालको आर्थिक सहयोग एवं नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौसँगको सहकार्यमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ ले शुक्रबार विराटनगरमा आयोजना गरेको गोष्ठीमा कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुर्व्यवहारविरुद्ध उद्योग–प्रतिष्ठानहरुले पालना गर्नुपर्ने आचारसंहिताका बारेमा पनि जानकारी गराइएको हो।

कार्यक्रमका अवसरमा महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले कार्यस्थलमा हुने हिंसाका घटना रोक्नका लागि त्यस्ता घटनामा हुनसक्ने सहनशीलतालाई शून्यमा लैजानुपर्ने बताए। उनले उद्योगधन्दाभित्र हुने हिंसा एवं यौनजन्य दुर्व्यवहारको परिणाम कर्मचारी तथा श्रमिकहरुमा हुने श्रम मनस्थिति नै बिग्रिएर जानेतर्फ सचेत रहनुपर्ने सुझाव दिए। 

महासंघका सहायक निर्देशक हरि पौडेलले आईएलओ महासन्धि र लैंगिक हिंसा निवारण ऐनबमोजिम हिंसा तथा दुर्व्यवहारविरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराए। उनले शारीरिक, गैरमौखिक र मौखिक रुपमा हुनसक्ने हिंसाले काममा पुर्याउने प्रतिकूल वातावरणविरुद्ध सवै क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा उपस्थित भएका उद्योग–प्रतिष्ठानका माथिल्लो तहका कर्मचारीलगायतका सहभागीले आफू कार्यरत वा सञ्चालन गरेका उद्योग व्यवसाय, कम्पनी तथा फर्मभित्र हुनसक्ने हिंसाका विरुद्ध  कार्ययोजना बनाएर त्यसको पालना गर्नसमेत प्रतिबद्धता जनाएका छन्। गोष्ठीमा विभिन्न प्रतिष्ठानका करिब  ४५ जनाको सहभागिता थियो।