काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज अर्थ मन्त्रालयमा भेट गरी बधाइ तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो। अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावजस्ता कारणले उद्योगी–व्यवसायीको मनोबल निकै खस्किएको बताए। उद्योगी–व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति अबलम्बन गर्न आग्रह गरे। 

अग्रवालले उद्योगी–व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रतिमहिना ब्याजदर घटाउने र चालुपुँजी कर्जा निर्देशिका पुराना ग्राहकका ला।गि २ वर्षसम्म स्थगित गर्न सके तत्काल सकारात्मक सन्देश सञ्चार गराउने र उद्योगी–व्यवसायीलाई उत्साही बनाउने बताए। यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका ६ वटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे। 

अध्यक्ष अग्रवालले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणा अर्थमन्त्रीसमक्ष पेस गरे। परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्ध, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ। 

मन्त्री पौडेलले परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावका लागि धन्यवाद दिए। उनले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। यसका साथै अर्थतन्त्र उकास्न परिसंघसँग सहकार्य गर्ने उनले बताए। 

अर्थमन्त्रीसँगको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजश्व सचिव रामेश्वर दंगाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र पनि सहभागी थिए। 

नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, रोहित गुप्ता, परिसंघ गभर्ननिङ काउन्सिल सदस्य शिवरतन शारदा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दीपकराज जोशीले पनि बधाइ तथा शुभकामना दिए। 

परिसंघले यसअघि आजै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटगरी अर्थतन्त्र सुधारसम्बन्धी परिसंघको सुझाव पेस गरेको थियो।