काठमाण्डौ । राजधानीको अव्यवस्थित ढल तथा खाल्डाखुल्डी सडकका कारण एक बालिकाको ज्यान गएको र एक बालिका बालबाल बचेको बिषयले दवाबमा परेका प्रधानमन्त्रीले १५ दिनभित्र काठमाण्डौका खाल्डो पुर्न सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिएका छन् । 

आइतबार सडक, खानेपानी,  विद्युत लगायतका आयोजनासँग सम्बन्धित कर्मचारी, विभागीय मन्त्री, मुख्यसचिव, सचिव तथा विभागीय प्रमुखहरुलाई बोलाएर देउवाले १५ दिनभित्र सडकका खाल्डा पुर्न तथा ढल फूट्ने समस्या तत्काल समाधान गर्न कडा निर्देशन दिएका हुन् । 

शुक्रबार राजधानीको नेपालटारमा ३ कक्षाकी छात्रा विनिता फूूयालको ढलले बगाएर निधन भएको थियो । यस्तै, सामाखुशीमा अर्की स्कूले बालिका सत्या सापकोटाले ढलले बगाएर बेपत्ता बनाएको केहीबेरपछि उद्धार गरिएको थियो । यी दुवै घटनालाई उद्धृत गर्दै प्रधानमन्त्री देउवाले राजधानीका सडक, ढलको अवस्थाका कारण सरकारलाई नै लाजमर्दो भएको भन्दै मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखहरुलाई थर्काएका हुन् । 

‘बजेट छैन भन्ने भन्नुहोस्, म निकासको व्यवस्था मिलाउँछु।’ देउवाको भनाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बिजशालासँग भने–‘तर १५ दिनभित्र काठमाण्डौको खाल्डो पुरिनुपर्छ, फेरि सर्वसाधारणको धनजन क्षति हुने अवस्था मैले देख्न नपरोस् ।’ 

उनले सरोकारवाला निकायका प्रमुखहरुलाई आजैदेखि फिल्डमा खटिएर काम गर्न समेत निर्देशन दिए । उनले १५ दिनपछिको कार्यप्रगतिको बिषयमा आफूलाई रिपोर्ट चाहिने समेत बताएका छन्।

उनले टेलिकम, विद्युत, सडक, खानेपानीसँग सम्बन्धित कार्यालयले पटक पटक सडक भत्काउने गरेकोप्रति उनले असन्तोष व्यक्त गरेका छन् । सबै निकायको समन्वयमा एकैपटक काम गर्न र एकपल्ट सडकमा खाल्डो पारिसकेपछि समयमै पुरेर व्यवस्थित बनाउन समेत उनले सम्बन्धितलाई निर्देशन दिएका छन् ।