काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरुलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न निर्देशन दिएको हो।

नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङलगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेवसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (ई–मेलसहित) सेवा प्रदायक संस्थाहरुलाई प्राधिकरणले निर्देशन दिएको छ। 

यो निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने पनि प्राधिकरणले चेतावनी दिएको छ। 

नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढ्दै गएको प्राधिकरणले जनाएको छ।