काठमाण्डौ । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। 

आज एक समारोहबीच प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबारको शुभारम्भ गरिएको हो। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा प्राप्त गरेको हो। 

सेञ्चुरीलाई प्राप्ति गरेपछि बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ जना र सेञ्चुरीबाट ३ जना हुनेछन्। बैंकको सीईओका रुपमा हालका प्रभु बैंककै सीईओ रहनेछन्। साबिक सेञ्चुरी बैंकका सीईओ प्रभु बैंकमा सिनियर डेपुटी सीईओका रुपमा रहनेछन्। 

सेञ्चुरी बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ र चुक्तापुँजी २३ अर्ब रुपैयाँ बढी पुगेको छ। बैंकको कुल निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ बढी र कुल ऋण २ खर्ब ५३ अर्ब रुपैयाँ बढी पुगेको छ। 

सेञ्चुरीलाई गाभनेपछि प्रभु बैंकको ग्राहक संख्या ३० लाख बढी शाखा सञ्जाल ३६५, एटीएम ३०९ र एक्सटेन्सन काउन्टर ७२ पुगेको छ। 

बैंकका सीईओ अशोक शेरचनले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘अनगिन्ती सम्भावनाहरुलाई सार्थकता प्रदान गर्दै आजदेखि हामी फेरि अर्को एउटा सम्भावनाको सहयात्रीलाई आफूमा समाहित गरेका छौँ। आजदेखि हामी अझ बृहत् र परिस्कृत स्वरुपमा यहाँहरुको उन्नति, प्रगति, आरोह–अवरोह एवं सफलता र समृद्धिको साक्षी बन्ने प्रण गर्दछौँ।’

उज्जवल भविष्यका लागि सेवाग्राहीको आशीर्वादको सदैव अपेक्षासहित सरल, सबल र प्रविधिमैत्री बैंक बन्नका लागि प्रयायरत रहने प्रतिबद्धता पनि सीईओ शेरचनले गरे। ‘हाम्रो सम्भावनाको मात्रामा आजपर्यन्त यहाँहरुबाट प्राप्त सद्भाव, सहृदयता र सत्प्रेरणाका लागि हामी अनुगृहित छौँ’, उनले भने।