– आर्जुन तिमिल्सिना

काठमाण्डौ । घट्दो बजारमा लगानीकर्ताको आम्दानी घटेसँगै सेयर धितो कर्जा प्रवाह पनि प्रभावित भएको छ। 

सरकार र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण पछिल्लो १५ महिना सेयर लगानीकर्ताका लागि खासै उत्साहजनक रहन सकेन। यो अवधिमा बजार ओरालो लाग्दा लगानीकर्ताहरुको आम्दानी घट्नुका साथै सरकारले पुँजीबजारबाट पाउने पुँजीगत लाभकर पनि घट्न पुगेको छ। 

पुँजीबजारमा सरकारले अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि फरक–फरक पुँजीगत लाभकरको व्यवस्था गरेको छ। जसअनुसार अल्पकालीन लगानीकर्ता ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर बुझाउँदै आएका छन्। तर, बजार घट्दा लगानीकर्ताले घाटामै सेयर बेच्नुपर्ने अवस्था सिर्जना हुँदा पुँजीगत लाभकरबापत सरकारले सोचेजति राजस्व उठाउने कुरा त परै जाओस् स्वयं लगानीकर्ताले पनि आम्दानी गर्न सकेनन्। 

यतिमात्रै होइन सरकारको राजस्व र आमलगानीकर्ताको आम्दानीसँगै सेयर धितो कर्जा प्रवाह पनि यिनै कारणले प्रभावित बन्न पुगेको हो। 

बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जा प्रदान गर्दा आय स्रोत खोज्ने गर्छ। तर, बजार घटेसँगै लगानीकर्ताको आम्दानी घट्दा बैंकहरुले माग्ने आय स्रोत देखाउन नसक्दा सेयर धितो कर्जा प्रभावित भएको हो। ‘धेरै लगानीकर्ताले सेयर धितो राखेर ऋण लिन चाहिरहेका छन्’, एक वाणिज्य बैंकका एक अधिकारीले भने, ‘तर, आम्दानीको वैध स्रोत जुटाउन नसक्दा लगानीकर्ताले सेयर धितो राखेर सहज ढंगले कर्जा लिन पाइरहेका छैनन्।’ 

उता एक विकास बैंकका अधिकारीले भने कर्जाको ब्याज उच्च हुनु र लगानीकर्ताको आम्दानीको वैध स्रोत जुटाउन नसक्दा सेयर धितो कर्जा कममात्रै प्रवाह भएको बताए। 

नेपाल राष्ट्र बैंकको मंसिरसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट ५८ अर्ब ७६ करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ। जब कि गत असार मसान्तसम्म यस्तो कर्जा ६४ अर्ब ८२ करोड रुपैयाँ प्रवाह भएको थियो। 

राष्ट्र बैंककै तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म मार्जिन प्रकृतिको कर्जा ७ प्रतिशतले घटेको छ। 

उता चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सरकारले पुँजीबजारबाट जम्मा १ अर्ब २३ करोड ५७ लाख रुपैयाँबराबरमात्रै पुँजीगत लाभकरबापत राजस्व उठाएको छ। जब कि यो वर्ष सरकारले पुँजीबजारबाट १५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। जुन अब पूरा हुने सम्भावना निकै कम देखिन्छ।

पुँजीबजारबाट गत वर्ष यही अवधिमासम्ममा ८ अर्बभन्दा बढी पुँजीगत लाभकर उठाएको थियो।