-प्रकाश न्यौपाने
काठमाण्डौ । नेपाल राष्ट्रबैकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका कारण सेयर बजारका लगानीकर्ताहरु निरश देखिएका छन् । अरु बेला अर्थमन्त्री विष्णु पौडेलको नामले पनि उत्साहित हुने लगानीकर्ता समीक्षापछि भने उनीदेखि रिसाएका छन् । 

प्रचण्ड नेतृत्वको नयाँ सरकार गठन भएपछि बसेको पहिलो क्याबिनेट बैठकले प्राथमिकताका बुँदा तय गर्दा पहिलो नम्बरमै सेयर बजारको समस्या सम्बोधन गर्ने र लगानीकर्ताको मनोबल बढाउने भनिएको थियो । सरकारले आफ्ना समस्यालाई सम्बोधन गर्ने जमर्को गरेको देखेर सेयर लगानीकर्ता उत्साहित भएका थिए । त्यसको प्रतिक्रिया बजारले पनि दिएको थियो । 

सरकारले पूँजीबजारलाई प्राथमिकतामा राखेको बुझेका लगानीकर्ताले मौद्रिक नीतिको समीक्षाअघि अर्थमन्त्री विष्णु पौडेलदेखि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको धारणाबाट राम्रै अपेक्षा गरेका थिए । कम्तीमा आफूहरुले लामो समयदेखि उठाउँदै आएको १२ करोडको सेयर धितो कर्जाको सीमा बढ्ने वा ट्ने लगायतका विषयमा लगानीकर्ताको राम्रै अपेक्षा थियो । तर, मौद्रिक नीतिको समीक्षाले ती कुनै पनि अपेक्षा पूरा गरिदिएन । बरु उल्टै राष्ट्रबैंकका अधिकारीहरुले अहिलेको अवस्थामा पूँजीबजार लगायतको एसेट मार्केट आफूहरुको प्राथमिकतामा नपरेको भन्दै लगानीकर्तालाई थप निराश बनाइदिए । 

अर्थमन्त्रीको एउटा बोली र त्यसमा लोली मिलाउन नसकेको राष्ट्रबैंकको समीक्षाका कारण लगानीकर्ता रिसाएका छन् । अर्थमन्त्रीका विष्णु पौडेलको आगमनले मात्रै पनि लगानीकर्ताको मनोबल बढ्ने गथ्र्यो । तर यसपटक भने पौडेलको भनाई र गराईमा फरक परेको भन्दै लगानीकर्ता उनीसँग रुष्ट देखिएका छन् । 

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार राष्ट्रबैंकको बजारप्रतिको विभेदकारी नीतिबाट दिक्क बनेका छन् । ‘सबै कुरा सकारात्मक हुँदै जाँदा पनि ब्याजदर घटाउन दिइएको छैन । सेयर कर्जामा लगाउनै नहुने १२ को सीमा लगाएर ४२ खर्बको बजारलाई २५ खर्बभन्दा तल झारेर राष्ट्रबैकले लगानीकर्ताको  बिल्लीबाठ बनाएको छ ।’ उनले भने–‘किसान, महिला, गृहिणी, विद्यार्थीदेखि सबै तह र तप्काका नागरिकहरुले आफ्नो गाँस काटेर सानो सानो रकम बजारमा लगानी गरेका, तर राष्ट्रबैंकले भने यो सम्वेदनशीलता नबुझी खरानी बनाइदिएको छ । यो खेदजनक छ ।’ 

सामान्य जनताको सम्पत्ति ५० प्रतिशतभन्दा धेरैले घटिसक्दा पनि सरकार र राष्ट्रबैंक गम्भीर बन्नुको साटो झन् झन् निर्मम र कठोर बन्दै जानु गलत रहेको उनको भनाई छ । 

नयाँ सरकार बनेपछि अर्थमन्त्री पौड्यालले सार्बजनिक कार्यक्रममा, लगानीकर्ताको भेटघाटमा बजारको बारेमा  निकै सकारात्मक कुरा गर्दै हिँडेता पनि आजको समीक्षाले लगानीकर्ताहरु अर्थमन्त्री पौड्यालसँग रुष्ट र निराश भएको रौनियारले बताए। 

लगानीकर्ताहरुले आशा गरेका १२ करोडको सिमा हटाउनुपर्ने, भारित औषत दर १५० बाट १०० मा झार्नुपर्ने, ब्याजदर घटाउनुपर्ने जस्ता मागहरुमा अर्थमन्त्री पनि सकारात्मक देखिएका थिए, तर  आजको समीक्षाले सेयरबजारलाई कुनै सम्बोधन गरेन। 

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकाल लगानीकर्ता निरश देखिए पनि आफ्नो बुझाईमा सरकार र राष्ट्रबैक सेयरबजारप्रति सकारात्मक नै रहेको दाबी गरे । ‘तरलता सहज हुँदै गएको छ। बैंकमा पैसा थुप्रिदै जाँदा ब्याजदर पनि घट्दै जान्छ । रेमिट्यान्स पनि बढिरहेकै छ। चैत्रसम्म बजारको माहोल निकै राम्रो भइसक्छ।’ उनले बिजशालासँग भने–‘अर्धवार्षिक समीक्षामा सम्बोधन नभएता पनि  बजारलाई सकारात्मक बनाउने र लगानीकर्तालाई ठूलो राहात हुनेगरी सर्कुलर आउनेमा म आशावादी छु ।’ 

लगानीकर्ता नेतृ दुर्गा तिवारी अर्थमन्त्रीसँगको भटेघाटका क्रममा जे आशा राखिएको थियो, त्यो नभएको गुनासो गर्छिन् ।  ‘अर्धबार्षिक समीक्षा भनेको देशको सम्पूर्ण अर्थतन्त्रका लागि हो । तर गभर्नर र अर्थमन्त्रीले चाहेमा अझै पनि सेयरबजारलाई सम्बोधन गर्न सक्छन।’ उनले भनिन्–‘कुल कर्जाको २ प्रतिशत हाराहारी मात्र प्रवाह भएको क्षेत्रलाई जोखिमको क्षेत्रमा राखेर सेयर बजारलाई हेर्ने चश्मा नै दोषपूर्ण छ । लचक बन्नुपर्ने समयमा अझ कठोर बन्दा सामान्य लगानीकर्ताहरुले बजारमा गरेको लगानी जोखिममा पर्दै गएको छ।’ 

बजार जानकार दामोदर गजुरेल भने राष्ट्रबैंकले नीतिगत परिवर्तनबाट बजारको समस्या तत्काल सम्बोधन नगरेजस्तो देखिए पनि अवस्था भने सहज बन्दै गएको दाबी गर्छन् । ‘अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक हुँदै गएका छन् । ब्याजदर पनि घट्दै गएको छ। बैंकमा तरलता पनि थपिँदो छ ।’ उनले भने–‘सेयरबजार लगायत अन्य क्षेत्रमा गरिएको कडाई कायमै रहेको बेला सेयरबजारलाई मात्र सम्बोधन गर्दा अन्य क्षेत्रको लगानी पनि सेयरबजारमै आउने हुँदा बजारमा झनै खतरा बढ्ने हो कि भन्ने राष्ट्रबैकको बुझाईका कारण सेयरबजारलाई अहिले तत्काल सम्बोधन नगरिएको हुनसक्छ ।’ 

उनको अनुमानमा बजार एकदुई दिन करेक्सन भए पनि ब्याजदर घट्दै गएका कारण बुलिस ट्रेण्डमै जानेछ ।