काठमाण्डौ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दर्ता गरेका हुन्। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग आरणले रिट दर्ता गरेका छन्। अर्का रिट निवेदक कल्याण बुढाथोकीको रिट पनि आजै दर्ता हुने दर्ता प्रक्रियामा रहेको छ। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ को माघीको अवसरमा काठमाण्डौको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। त्यतिबेला उनले ५ हजारको जिम्मा आफूले लिन सक्ने बताएका थिए।

उक्त सार्वजनिक अभिव्यक्तिलाई लिएर प्रचण्डलाई पक्राउ गर्ने आदेश माग गर्दै रिट दर्ता भएको हो।

गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयाँलको इजलासले प्रचण्डविरुद्ध आरन र बुढाथोकीको रिट दर्ता गर्न आदेश गरेको थियो। 

गत कात्तिकमा आरन र बुढाथोकी प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्च गएका थिए। सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरुद्ध निवेदन दिएका थिए। सोही निवेदनमा उक्त इजलासले सुनुवाइ गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो।