काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफूले साना–मझौलादेखि ठूला व्यवसायीका समस्या सूक्ष्म तरिकाबाट बुझेको र ती समस्या समाधान गर्न महासंघको नेतृत्वमा आउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। 

‘महासंघको विधान अनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ’, गोरखा उद्योग वाणिज्य संघको ४७ औँ साधारणसभामा श्रेष्ठले भने, ‘उद्योगी–व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु।’ 

अहिले महासंघको पुरानो साख जोगाउनुपर्ने समय आएको भन्दै श्रेष्ठ त्यसलाई लागि चन्द्र ढकालको टिममा आफू वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिनेसमेत बताए। 

यसैगरी श्रेष्ठले अहिले उद्योगी–व्यवसायीहरु एक नभएकै कारणले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै अबका दिनमा समग्र उद्योगी–व्यवसायी एकढिक्का भएर अघि बढ्नुको विकल्न नरहेको बताए। ‘अहिले हामी उद्योगी–व्यवसायीहरु आन्दोलनमा छौँ तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन’, उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो।’

अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीमा भन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै श्रेष्ठले यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ’, उनले भने, ‘किनकि नियम–कानुन बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ।’

अहिले विश्वव्यापी रुपमा देखिएको आर्थिम मन्दीको समस्याले गर्दा नेपाललाई पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी–व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै गएको श्रेष्ठको भनाइ थियो। ‘हामी अहिले उधारोमा चलेका छौँ, यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने’, उनले भने, ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्न अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी व्यवसायीको हितमा छैन।’ 

देशमा राजनीतिक क्रान्ति भएर गणतन्त्र आए पनि तर आर्थिक क्षेत्र झन खस्किएको श्रेष्ठको भनाइ थियो। ‘हामी उद्योगी–व्यवसायीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन क्रान्ति गरेका होइनौँ’, उनले भने, ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउन हाम्रो लडाइँ थियो तर अहिले उल्टो भइदियो।’