काठमाण्डौ । बजार घट्दै जाँदा पछिल्लोपटक प्रथामिक सेयरमा आकर्षक पनि घट्दै गएको छ। 

बजार ३२०० को इन्डेक्समा पुग्दा आईपीओमा २५ लाखसम्म आवेदन परेको रेकर्ड थियो। केही दिनअघि बाँडफाँड भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा साढे १३ लाख आवेदन परेका थिए। 

बजार यसरी नै घट्दै जाने हो भने हाल नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा रहेका प्रिमियममा आईपीओ निकाल्न अनुमति मागेका कम्पनीहरुको सेयर बिक्न हम्मेहम्मे पर्न सक्ने एक पुराना लगानीकर्ता राजेन्द्र थपलिया बताउँछन्। ‘अहिलेको अवस्थामा प्रिमियम थपेर आईपीओ, एफपीओ तथा बुक बिल्डिङजस्ता कुनै पनि विधिबाट सेयर निष्कासन गर्नु घातक हुन सक्छ’, थपलियाले भने।

हाल ३ वटा जीवन बीमा कम्पनीसहित ८ वटा कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन्। यी कम्पनीले सर्वसाधरणबाट १२५ रुपैयाँदेखि ३०० रुपैयाँसम्म प्रिमियम उठाने योजना बनाएका छन्। 

प्रिमियममा आईपीओ जारी गर्ने अनुमति माग्नेमा सोनापुर मिनरल्स एन्ड आयाल, रिलायबल नेपाल लाइफ इन्सोरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट इन्डस्ट्री, माण्डु हाइड्रोपावर र भगवती हाइड्रोपावर छन्।

सोनापुर मिनिरल्सले ३ अर्ब २ करोड १५ लाख २२ हजार ६२३.२८ रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति मागेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता स्थानीय र कर्मचारीलाई २२५ रुपैयाँ (१२५ रुपैयाँ प्रिमियम) र सर्वसाधारणका लागि २४९.८४ (१४९.८४ रुपैयाँ प्रिमियम) मूल्य तोकिएको छ। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ। 

यसैगरी रिलायन्स नेपाल लाइफले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति मागेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ (११२ रुपैयाँ प्रिमियम) मूल्य तोकिएको छ। यो आईपीओको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। 

सन नेपाल लाइफले पनि प्रतिकित्ता २५०.५५ रुपैयाँ (प्रिमियम १५०.५५ रुपैयाँ)का हिसाबले ९६ लाख कित्ता आईपीओ बिक्री गर्ने अनुमति मागेको छ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ। 

उता आइएमई लाइफले प्रतिकित्ता २७६ रुपैयाँ (प्रिमियम १७६ रुपैयाँ) र सिटिजन्स लाइफले प्रतिकित्ता २९० रुपैयाँ (प्रिमियम १९० रुपैयाँ)को हिसाबले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका छन्। सिटिजन लाइफले कर्मचारीका लागि भने १०० रुपैयाँमै आईपीओ बिक्री खुलाउनेछ। आइएमई लाइफले १ करोड २० लाख कित्ता र सिटिजन लाइफले १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछन्। आईपीओ बिक्री प्रबन्धकमा आइएमई लाइफको सिभिल क्यापिटल र सिटिजन लाइफको एनआईबिएल एस क्यापिटल छन्। 

घोराही सिमेन्टले स्थानीयलाई प्रतिकित्ता ४०० रुपैयाँ (प्रिमियम ३०० रुपैयाँ) र सर्वसाधारणलाई ४३५ रुपैयाँ (प्रिमियम ३३५ रुपैयाँ)का हिसाबले आईपीओ बिक्रीको अनुमति मागेको छ। अनुमति पाएमा यो कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्नेछ। घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्टले गर्नेछन्। 

यस्तै माण्डु हाइड्रोपावरले १४८ रुपैयाँ प्रिमियर थपेर स्थानीय र सर्वसाधारणलाई प्रतिकित्ता २४८ रुपैयाँमा आईपीओ बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

सेबोनका प्रवक्ता मुक्तिबहादुर श्रेष्ठले प्रिमियम आईपीओ निकाल्न कम्पनीहरुले धितोपत्र निष्कासन नियमावलीमा रहेका मापदण्डहरु पूरा गरेको हुनुपर्ने बताउँछन्। ‘कम्पनीहरुले प्रिमियममा आईपीओ निकाल्न आवेदन दिँदैमा सबैले त्यही मूल्यमा नै पाउँछन् भन्ने छैन’, उनले भने।

प्रिमियममा आईपीओ निकाल्न खोज्ने कम्पनी कम्तीमा ३ वर्ष नाफामा गएको हुनुपर्ने श्रेष्ठ बताउँछन्। ‘नेटवर्थ सकारात्मक भएको हुनुपर्छ’, उनले भने, ‘इक्रा रेटिङ पनि औसतभन्दा बढी त्रिपल बी आएको हुनुपर्छ।’

त्यसैले सबै मापदण्ड पूरा गरेर आवेदन दिएका छन् भने त्यस्ता कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न सेबोनले अनुमति दिने प्रवक्ता श्रेष्ठले स्पष्ट पारे।