-अर्जुन तिमिल्सिना
काठमाण्डौ । अर्थमन्त्रीमा नियुक्त भएको दिनदेखि सेयर बजारका लगानीकर्ताको मनोबल उकास्ने रटान लगाइरहेका डा. प्रकाशशरण महतलाई बजारले पत्याइहालेको छैन । 

आफ्नो प्रभाव देखाउन नसके पनि समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धताका कारण नियुक्ति भएको दिनदेखि उनी स्वयम्को सक्रियता हेर्नलायक छ । अर्थमन्त्री सक्रिय भएसँगै उनलाई भेटघाट गर्नेहरुको लहर छ । 

अर्थमन्त्रालयमा दैनिकजसो लावालस्कर लागेको छ । कहिले उद्योगी–व्यवसायीको, कहिले निजी क्षेत्रका विभिन्न संघसंगठनका प्रतिनिधिको त कहिले सेयर बजारका लगानीकर्ता तथा अन्य सरोकारवालाहरुको ।

सेयर बजारको विषयमा आफू सकारात्मक रहेको र बजारको समस्या समाधानको विषय आफ्नो प्राथमिकतामा परेको सार्वजनिक रुपमै घोषणा गरेका अर्थमन्त्रीसँग बजारका सरोकारवालाहरुले पनि बाक्लो भेटघाट गरिरहेका छन् । अर्थमन्त्रीले पनि बजारसँग सम्बन्धित निकाय तथा प्रतिनिधिहरुलाई अर्थमन्त्रालयमै बोलाएर समस्या पहिचानको कोशिश गरिरहेका छन् । 

यही क्रममा सोमबार उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमले अर्थमन्त्रीलाई सिंहदरबारमै गएर भेट्यो । भेटघाटमा फोरमको तर्फबाट गएकाहरुले बजारको समस्या र समाधानको उपाय समेटिएको ज्ञापनपत्र पनि बुझाए । फोरमका संयोजक तथा बजारमा ‘भेटेरान लगानीकर्ता’को उपमा पाएका अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छलफल समेत गरेको थियो । 

सो समूहमा लगानीकर्ताका अन्य प्रतिनिधि, स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा तथा केही ब्रोकर, मर्चेन्ट बैंकर्स एशोसिएसनका प्रतिनिधि लगायतको सहभागिता थियो । 

अर्थमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा ब्रोकरको तर्फबाट अध्यक्ष धर्मराज सापकोटाले पनि हस्ताक्षर गरेका थिए । तर, ब्रोकरले समेत आँखा चिम्लिएर हस्ताक्षर गरिएको त्यही ज्ञापनपत्रमा हाल भइरहेका ब्रोकरहरुको व्यवसायको घाँटी थिच्ने उद्देश्यले एउटा सम्वेदनशील बुँदा सुटुक्क घुसाइएको थियो । 

सुरुमा ज्ञापनपत्र बनाउँदा ‘सो बुँदा’ राखिएको थिएन । तर, अन्तिम अवस्थामा ब्रोकर प्रतिकूलको बुँदा घुसाएर ब्रोकरकै नेतालाई आफ्नै व्यवसायविरुद्धको ज्ञापनपत्रमा हस्ताक्षर गराइएको कुरा त्यो ज्ञापनपत्र मिडियामा प्रकाशित हुँदा मात्र थाहा भएको थियो । 

अर्थमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रको पेज नम्बर ६ को बुँदा नम्बर ४ मा भनिएको  छ–‘लगानीकर्ताको संख्या, कारोबारको आकार, सूचीकृत कम्पनीको संख्या समेतलाई मध्यनजर गरी ब्रोकर संख्या हरेक २–२ बर्षमा पुनरावलोकन गर्ने । त्यसरी ब्रोकर संख्या थप गर्दा बैक तथा वित्तीय संस्थाहरुलाई पहिलो प्राथमिकतामा राख्ने।’ 

आफैंविरुद्धको बुँदा आफैंले हस्ताक्षर गरेको ज्ञापनपत्रमा परेको विषय मिडियामा सार्वजनिक भएपछि मात्र ब्रोकरहरुले चाल पाएका थिए । यो विषयले मंगलबार दिनभर ब्रोकर हाउसहरुमा हल्लीखल्ली मच्चाएको थियो । आफ्ना नेताहरुको कच्चा कामप्रति मंगलबार बिजशाला प्रतिनिधिसँग भेट गरेका अधिकांश ब्रोकरहरुले आक्रोश पोख्दै तीखो आलोचना गरेका छन् । 

‘यो बुँदाले अहिले भइरहेका ब्रोकरहरुको व्यवसाय सोझै धरापमा पारिदिन्छ । यस्तो बुँदा कसरी राखियो ? यस्तो बुँदा समेटिएको ज्ञापनपत्रमा हाम्रा साथीहरुले के आधारमा हस्ताक्षर गरे ?’ एक ब्रोकरले आक्रोशित हुँदै भने–‘यो हाम्रो नेतृत्वको कमजोरी हो । आफ्नै कञ्चटमा गोली हानेजस्तो भयो यो त ।’ 

ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरुले आफूहरुलाई झुक्याएर हस्ताक्षर गरेको बताएका ब्रोकरहरुको भनाई छ । ‘हामीले सोध्दा झुक्याएर हस्ताक्षर गराइयो भनिएको छ ।’ अर्का एक ब्रोकरले भने–‘झुक्याउँदा झुक्किने हाम्रो नेतृत्व कस्तो हो ?’ 

ज्ञापनपत्र बुझाउँदा टोलीमा सहभागी अनलाईन सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४९) का सञ्चालक अनन्तराज पौडेलले पनि सुरुमा ज्ञापनपत्र पढ्दा यो बुँदा नरहेको दाबी गरे । उनले थपे–‘सुरुमा हामीले पढ्दा यो बुँदा नै थिएन । तर, पछिबाट साथीहरुले थप्नु भएछ । हामीलाई जानकारी नै भएन । मिडियामा ज्ञापनपत्र आउँदा मात्र हामी झसङ्ग भयौं ।’

एफएनसीसीआईको पूँजीबजार फोरमका संयोजक तथा टोलीको नेतृत्व गरेर सिंहदरबार पुगेका अम्बिकाप्रसाद पौडेलले भने आफूहरुले कसैलाई नझुक्याएको दाबी गरे । एफएनसीसीआई ब्रोकरहरुको मात्र संगठन नरहेको उल्लेख गर्दै यसको ब्यानरमा बुझाइएको ज्ञापनपत्रमा बजारसँग सरोकार राख्ने सबैको माग समेट्नुपर्ने भएकोले त्यो बुँदा परेको बताए ।

‘राज्यको समग्र नीतिमा पैरवी गर्ने संगठन एफएनसीसीआई हो । यसले कुनै एउटा संगठन वा एउटा वर्गको मात्र माग बोक्ने भन्ने हुँदैन । यसलाई यही रुपमा बुझ्नुपर्छ ।’ उनले बिजशालासँग भने–‘त्यसकारण त्यो बुँदाप्रति ब्रोकर साथीहरुले चित्त दुखाउने कुनै कारण नै छैन ।’  

*यसैबीच, समाचार प्रकाशित भएपछि स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले अर्थमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् । ज्ञापनपत्र बुझाउन भने आफू गएको समेत उनले प्रष्ट पारे।