काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले महासंघले वस्तुगत संघका समस्याहरुलाई बेवास्ता गरेको बताएका छन्। 

‘महासंघ सञ्चालनको ब्रेन भनेको वस्तुगत संघ हो’, महासंघको ५७ औँ साधारणसभामा बोल्दै ढकालले भने, ‘तर महासंघले त्यही ब्रेनलाई चलाउन नसक्दा अहिले महासंघलाई सोचेअनुरुप अघि बढाउन सकिएको छैन।’

महासंघले साना तथा मझौला उत्पादन, मौलिक उत्पादन, वैकल्पिक ऊर्जा, उत्पादनमूलक उद्योग, सेवामूलक, पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रलाई महासंघसँग आबद्ध विभिन्न समिति, फोरम, परिषद्मा जोड्दै उक्त समस्या समाधान गर्न पहल गर्नुपर्ने ढकालको माग छ। ‘महासंघमा ठूलो हिस्सा ओगट्ने वस्तुगत संघलाई सबैभन्दा न्यून क्षेत्राधिकार दिइएको छ’, उनले भने, ‘अब महासंघले तत्काल विधान संशोधन गरी वस्तुगत संघको क्षेत्राधिकार बढाउनुपर्छ।’ 

ढकालले वस्तुगत संघहरुका साथीहरुको समस्या, चुनौतीलाई सरकारसँग पुर्याएर समाधान तथा सम्भावनालाई साथ दिनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको बताए।

यसैगरी उनले अहिले अवस्थामा उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्ने बताएका छन्। यस्तै राष्ट्र बैंकको अब्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दा साना तथा मझौला उद्योगी–व्यवसायी मारमा परेको भन्दै उनले त्यसलाई बढीमा २ प्रतिशतमा लकअप गरिनुपर्नेसमेत बताए। ‘विशेषगरी मौलिक उत्पादन र निर्यातजन्य उद्योगहरुका लागि सरकारले तत्काल सहुलियत र पुनर्कर्जा दिनुपर्दछ,’ उनले भने, ‘देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान ठूलो छ तर सरकारले तीनै उद्योगी व्यवसायीका समस्यालाई वेवास्ता गर्दै आएको छ।’

अहिलेको मन्दीका कारण उद्योगी–व्यवसायीले बैंकको किस्ता तिर्न नसक्ने अवस्था रहेको भन्दै ढकालले चैतमा तिर्नुपर्ने किस्ता र ब्याजलाई कम्तीमा असार मसान्तसम्म सार्नुपर्ने माग गरे।