काठमाण्डौ । युवा उद्यमी देशबन्धु बस्नेत (अजित)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन्। 

हाल महासंघको केन्द्रीय सदस्य एवं द्विराष्ट्रिय तथा एनआरएन फोरमका सभापति रहेका बस्नेतले आफ्नो अनुभवलाई आत्मसात गर्दै महासंघमा युवाको  प्रतिनिधित्वको नयाँ आयाम थप्नका लागि पुनः एसोसिएटतर्फबाट सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिए। नेपालमा पर्यटन र होटल व्यवसायमा आफ्नो लगानीलाई विस्तार गरेका युवा उद्यमी बस्नेतले वैदेशिक लगानी भित्र्याउन अहम् भूमिका निर्वाह गर्दै आएका छन्। उनले द्विराष्ट्रिय तथा एनआरएन फोरमको सभापति भएर काम गर्दा महासंघ इतिहासमै पहिलोपटक द्विराष्ट्रिय संघका नेपालस्थित वाणिज्य दूतहरुलाई महासंघमा ल्याएर नेपालमा लगानीको सम्भावनाबारे छलफल गराएका थिए भने गैरआवासीय नेपालीको लगानी भित्र्याउन समेत सम्बन्धित देशका प्रतिनिधिसँग छलफल गरेका थिए।

‘सक्षम निजी क्षेत्र समृद्ध अर्थतन्त्र’को नारालाई अघि बढाएका बस्नेतले महासंघभित्र एसोसिएट्स सदस्यहरुको हकहित तथा उनीहरुबीच अन्तरसम्बादलाई थप दरिलो बनाउन सदस्य पदमा उम्मेदवारी दिएको बताए। ‘अहिलेको अवस्थामा देशभर रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटका समस्या र मुद्दालाई महासंघमा बहसको रुपमा स्थान प्रदान गरी तार्किक निष्कर्ष पुर्याउनुपर्ने आवश्यक छ’, उनले भने, ‘विभिन्न ४० भन्दा बढी क्षेत्रमा रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई क्षेत्रगत समूहमा संगठित गरी विषय विज्ञसँग परामर्शमा व्यावसायिक हित र संरक्षण गर्न विशेष योजना तथा कार्यक्रमलाई अगाडि बढाउनेछु।’

अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी–व्यवसायी मारमा परेको भन्दै बस्नेतले आफू निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेवुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए। ‘अहिले अवस्थामा हाम्रो उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्छ’, उनले भने, ‘यस्तै राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ।’

यस्तै बस्नेतले सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटले महासंघमा आर्थिक रुपमा हेर्ने हो भनी ७० प्रतिशत हिस्सा ओगटेका जानकारी दिँदै सोहीअनुरुप  महासंघमा आपन्त्व र अधिकार प्रदान गर्नका लागि ‘एसोसिएटसँग महासंघ कार्यक्रमलाई अगाडि बढाइनेसमेत उनले बताए। सार्वजनिक र निजी क्षेत्रका एसोसिएटको आत्मसम्मानलाई उजागर गर्दै नेतृत्व गर्न तयार बनाउनका  लागि गोष्ठी, लगानी मैत्री वातावरण तथा सरकारसँग व्यवसायीका समस्या राखेर समाधान गर्न सक्ने सक्षम महासंघ आजको आवश्कयता रहेको उनले जानकारी दिए। 

यस्तै आफू महासंघको नेतृत्वमा पुगेपछि निजीक्षेत्रमैत्री वातावरण तयारका साथै सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई प्रदेश जिल्ला नगर र क्षेत्रगत रुपमा एकीकृत गरी नीति निर्माण तहमा पुर्याउन समन्वय गर्नेसमेत बस्नेतले जानकारी दिए। यसका साथै अहिले आर्थिक संकटबाट गुज्रिएको अवस्थालाई सरकार सहकारी र निजी क्षेत्र गरी राष्ट्रको ३ खम्बे अर्थनीतिमा निजी क्षेत्रको महत्व र भूमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको समेत उनको तर्क छ। 

सबल नेतृत्व सक्षम निजी क्षेत्र बनाउन महासंघको आसन्न निर्वाचनमा आफूलाई मतदान गरी निर्वाचित गराउनसमेत बस्नेतले आग्रह गरे।