काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पुँजीबजारमा विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन र लकिङ पिरियड सकिएका जलविद्युत कम्पनीहरुको अध्ययन गर्न छुट्टछुट्टै समिति गठन गरेको छ। 

सेबोनको गत चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले ती दुई अध्ययन समिति गठन गरेको हो। पुँजीबजारमा एनआरएनलाई भित्र्याउन सम्बन्धमा नियमावलीको मस्यौदा तयार गर्न सेबोनमा नेपाल चार्टर्ड अकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। 

एनआरएनलाई भित्र्याएर पुँजीबजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन उपयुक्त हुने विषयलाई मध्यनजर गर्दै धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका एनआरएनलाई भित्र्याउन तथा उनीहरुको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानुनबमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदनसहित नियमावलीको मस्यौदा तयार गर्न काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको सेबोनले जनाएको छ।

समितिका अन्य सदस्यहरुमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुंगाना, सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा सेबोनकी उपकार्यकारी निर्देशक दीपा दाहाल छन्।

समितिले ३ महिनाभित्र एनआरएनलाई नेपालको पुँजीबजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी सञ्चालक बोर्डमा पेस गर्नुपर्नेछ। यसका साथै अध्ययन समितिले उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाइ पहिचान गरी सोका लागि आवश्यक कार्यविधिसमेत सिफारिस गर्नुपर्नेछ। 

यसरी प्रस्तावित नियमावलीको कार्यान्वयनपश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भई मूल्य जोखिम कम हुनेलगायतका सुधार पुँजी बजारमा हुने अपेक्षा सेबोनको छ। 

यसैगरी सेबोनले लकिङ पिरियड सकिएका हाइड्रोपावर कम्पनीका सेयर संरचनाको विद्यमान अवस्था अध्ययन गर्न कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा अर्को समिति गठन गरेको छ। समितिका अन्य सदस्यमा नेपाल चार्टड अकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मा छन्।

यो समितिले जलविद्युत समूहको सूचीकृत संगठित संस्थाहरुको सेयर धितोपत्र बजारमा सूचीकृत भएपश्चात तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरुको सेयर संरचनाको विद्यामान अवस्था र सोको प्रभावका सम्बन्धमा अध्ययन गर्नेछ।

सेबोनले यो समितिलाई ३ महिनाभित्र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरुको सेयर संरचनाको विद्यामान अवस्था र सोको प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी सञ्चालक बोर्डसमक्ष पेस गर्न निर्देशन दिएको छ। 

अध्ययन समितिको प्रतिवेदनका आधारमा संगठित संस्थाको नियमन तथा सुपरिवेक्षणका सम्बन्धमा थप नीतिगत व्यवस्था गर्नुका साथै पुँजीबजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउने अपेक्षा सेबोनको छ।