काठमाण्डौ । निर्वाचित भएलगत्तै महङ्गो मोवाइल खरीदको निर्णयका कारण विवादमा तानिएका काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पछिल्लो समय आलोचित छन् । 

काठमाण्डौका खाल्डामा पैसा खेर फाल्दिँन भन्ने गैरजिम्मेवारी जवाफ दिएपछि उनी थप विवादमा तानिएका थिए । त्योसँगै उनको कार्यशैली, माइग्रेन भयो भन्दै अधिकांश समय सुत्ने प्रवृति, विज्ञ सल्लाहकार नराखी जथाभावी काम गर्ने र सर्वसाधारणसँग रुखो रुपमा प्रस्तुत हुने बानीका कारण उनी थप विवादित छन् । विद्यासुन्दर शाक्यकै कारण आगामी दिनमा काठमाण्डौमा एमाले कमजोर हुने विश्लेषण पनि सुरु भइरहँदा आर्थिक वर्ष ०७४/७५ को वार्षिक बजेटमा जनप्रतिनिधिलाई तलबभत्तादेखि सवारीका साधन खरीदमा समेत ठूलो बजेट छुट्याएका छन् । 

महानगरले जनप्रतिनिधिको तलबभत्ता, पोशाक सुविधा लगायतको शीर्षकमा मात्र ५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । तलब र पारिश्रमिकका लागि मात्र २ करोड १५ लाख छुट्याइएको छ । सवारी खरीदका लागि भन्दै ७ करोड छुट्याइएको छ र यो बजेटले मेयर लगायतका प्रतिनिधिलाई सवारी खरीदको योजना रहेको महानगरका एक कर्मचारीले बताए । 

महानगरले जनप्रतिनिधिले पाउने अन्य सुविधाको शीर्षकमा पनि निकै ठूलो बजेट विनियोजन गरेको छ । महानगरको जनप्रतिनिधिको उपचार खर्चमा प्रत्येकका लागि २० लाखको दरले बजेट विनियोजन गरिएको छ । यस्तै, परिवहन सुविधा र विविध खर्चमा ३ करोड, टेलिफोन सुविधा शीर्षकमा १० लाख छुट्याइएको छ । 

महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि १२ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ । जसमध्ये ८ अर्ब ९८ करोड रुपैयाँ भौतिक पूर्वाधार सुधार र विकास खर्च शीर्षकका लागि विनियोजन गरेको छ ।