काठमाडौ । उपत्यकाबाहिर चल्ने सवारीसाधन आज असार १ गतेबाट गोंगबु बसपार्कबाट मात्र सञ्चालन हुने भएको छ। 

काठमाण्डौ महानगरपालिकाले गत जेठ १९ गते सार्वजनिक सूचना गर्दै दिएको निर्देशनबमोजिम आजबाट गोंगबु बसपार्कबाट मात्रै उपत्यकाबाहिर चल्ने सवारीसाधन छुट्ने भएका हुन्। उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरले निर्देशन दिएको थियो। 

काठमाण्डौ महानगर क्षेत्रभित्रबाट उपत्यकाबाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको हो। 

सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको महानगरले स्पष्ट पारेको छ। 

आजबाट नयाँ बसपार्कबाहिर रहेका टिकट काउन्टर हटाउन पनि काठमाण्डौ महानगरले निर्देशन दिएको छ। 

धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको छ। 

नियम उल्लंघन गर्ने जोकोहीलाई आजदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने महानगरले जनाएको छ।