काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ। 

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीहरुले विद्यमान अर्थतन्त्र एवं समाधानका उपायका बारेमा छलफल गरेका हुन्। 

छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलहरुको मुख्य अजेन्डा आर्थिक मुद्दा बन्नुपर्ने बताए। अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा उनले जोड दिए। 

अर्थतन्त्रलाई चलायमान बनाउँदै लक्षित आर्थिक बृद्धि हासिल गर्न एवं निजी क्षेत्रको मनोबल बढाउन आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने अग्रवालले उल्लेख गरे। जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारीमा पूर्वाधार क्षेत्रको विकास गरिनुपर्ने, भूतप्रभावी कर नीति हुन नहुने, ठूला उद्योग तथा व्यवसायिक कृषिका लागि जग्गा हदबन्दी हुन नहुनेमा उनले जोड दिए। 

छलफलमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना दिँदैै अर्थतन्त्रका विषयमा आफूले कुरा राख्दै आएको बताए । ‘प्रधानमन्त्री हुँदा वा नहुँदा आर्थिक क्षेत्रको सुधार र विकासका लागि बोल्दै आएको छु’, उनले भने, ‘अर्थतन्त्रका विषयलाई मैले प्राथमिकतामा राख्दै आएको छु।’ 

छलफलमा निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी थिए।