काठमाण्डौ । नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सोमबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन्। 

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन एवं खुकुलो मौद्रिक नीतिमा जोड दिए। आन्तरिक उत्पादनलाई प्रबद्र्धन गर्न चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न उनले आग्रह गरे। 

अध्यक्ष अग्रवालले उद्योगी–व्यवसायीलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन ल्याउन आग्रह गरे। यसका साथै वित्तिय कसुरमा आर्थिक जरिवाना मात्रै हुनुपर्नेमा जोड दिँदै उनले अग्रिम जमानत कानुनको आवश्यकता औँल्याए। 

हालै बजेटमा घोषणा गरिएको आयातित सामानमा लेबलिङ लगाउनुपर्ने व्यवस्था साउन १ देखि कार्यान्वयनमा जान लागेको सूचना भन्सार विभागले सार्वजनिक गरिसकेको छ। तर सो सूचना स्पष्ट नभएको र चोरी पैठारी गरेर आयात गरिएका सामग्रीमा समेत लेबलिङ लगाएर बेच्न सक्ने भएकाले लेबलिङ नगरिएका वस्तुहरु भन्सार विन्दुमै रोकिनुपर्नेमा अध्यक्ष अग्रवालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए। 

छलफलमा अर्थमन्त्री महतले परिसंघले उठाएका विषयहरुलाई गम्भीतापूर्वक लिएको बताए। उनले परिसंघ नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिए। 

अर्थमन्त्रीसँगको छलफलमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारी छायाँ शर्मा सहभागी थिए।