काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ। 

नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले राप्रपा संसदीय कार्यालयमा छलफल गरेका हुन्। 

छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राख्नुपर्ने बताए। निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा उनले जोड दिए। भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने उनले बताए। 

अध्यक्ष अग्रवालले भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए। 

छलफलमा पूर्वऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने बताए। उनले जलविद्युत आयोजनाको पीपीए रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै सबै जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने धारणा राखे। उनले पीपीए खुला गर्न सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। 

छलफलमा सीएनआई उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी थिए।