काठमाण्डौ । नेपाल उद्योग परिसंघको नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीबीच भेटवार्ता गरेका छन्। 

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल गरेका हुन्। 

मन्त्री भण्डारीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताए। उनले कर्मचारीहरुको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने तर हालको अवस्थालाई मध्येनजर गरेर वृद्धि गरिनुपर्ने धारणा राखे। 

मन्त्रीद्वय भण्डारी र मोदीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। 

छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, परिसंघका उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी थिए।