काठमाण्डौ । नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबीच छलफल भएको छ। 

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र, औद्योगिक उत्पादन वृद्धिका लागि गरिनुपर्ने सुधारका विषयमा छलफल गरेका हुन्। 

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न अतिआवश्यक रहेको त्यसका लागि प्रभावकारी बजेट कार्यान्वयन एवं निजी क्षेत्रको मनोबल बढाउनुपर्ने बताए। उद्योगहरुको प्रवर्द्धनका लागि नीतिगत स्थिरतामा उनले जोड दिए । ठूला उद्योग तथा व्यावसायिक कृषिका लागि जग्गामा हदबन्दी हुन नहुने, चोरीपैठारी नियन्त्रण गर्न कडाई गर्नुपर्ने, उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानुन ल्याउनुपर्ने बताए। 

उनले औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने बजेटमा भएको घोषणा छिटो कार्यान्वयनमा लैजान पनि आग्रह गरे। 

मेक इन नेपाल स्वदेशी अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी तथा सार्वजनिक संस्था, सेना, प्रहरीहरुले प्रयोग गर्ने उपभोग्य वस्तुहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गरिनुपर्नेमा जोड दिए। 

छलफलमा मन्त्री रिजालले निजी क्षेत्रले नै उद्योग व्यवसाय गर्नुपर्ने उल्लेख गर्दै सरकारले त्यसका लागि सहजीकरण गर्ने बताए। उनले परिसंघ नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना पनि दिए। 

छलफलमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्यहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए।