काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ। 

पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि दाहालको पार्थिव शरीर नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ। पेरिसडाँडामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी स्रोत बताउँछ। 

लामो समयदेखि अर्धचेत अवस्थामा रहेकी दाहालको स्वास्थ्य झनै बिग्रिएपछि आज बिहान ८ बजे नर्भिक इन्टरनेसनल हस्पिटलमा पुर्याइएको थियो। नर्भिकको इमर्जेन्सीमा उपचारकै क्रममा बिहान ८ः३३ बजे दाहालको अस्पतालमा निधन भएको थियो। हृदयघातका कारण उनको निधन भएको अस्पतालका चिकित्सकले बताएका छन्।

दाहालको शव लैजान शववहान डाकिएको छ। अस्पतालमा अहिले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेता पुगेका छन्।