काठमाण्डौ । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीको टोली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ। 

नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुको टोलीले बिहीबार सभापति लामिछानेसँग छलफल गरेको हो। 

अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई मुख्य प्राथमकितामा राख्नुपर्ने बताए। अर्थतन्त्र अप्ठ्यारो स्थितीमा रहेकाले बजारलाई चलायमान गराउने नीतिको आवश्यकता औँल्याए। 

अग्रवालले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी बजेट कार्यान्वयन गराउनुपर्नेमा जोड दिए। बजेटको प्रभावकारी कार्यान्वयनका रचनात्मक सहयोग गर्ने उद्देश्यले निजी क्षेत्रका तर्फबाट परिसंघले सुरु गरेको बजेट वाचका विषयमा उनले जानकारी गराए। 

अध्यक्ष अग्रवालले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरिनुपर्ने, सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा पूर्वाधार विकास गरिनुपर्ने, सूचना प्रविधि, सीप विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे। 

अध्यक्ष अग्रवालले भूतप्रभावी हुने गरी कर लगाउँदा स्वदेशी एवं विदेशी लगानीकर्ताबीच नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए। उनले उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानुनको आवश्यकताका विषयमा जानकारी गराए। 

छलफलमा सभापति लामिछानेले अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र बलियो बन्नुपर्ने बताए। उनले निजी क्षेत्रलाई देशको नीतिले संरक्षण गर्नुपर्नेमा जोड दिँदै योजना बनाउनेदेखि कार्यान्वयन तहसम्म निजी क्षेत्रको संस्थागत प्रतिनिधित्व हुनुपर्ने बताए। उनले सरकार, राजनीतिक दलहरुले गर्नुपर्ने काम परिसंघले सुरु गरेको भन्दै बजेट कार्यान्वयन मार्गचित्र ‘बजेट वाच’ का लागि धन्यवाद दिए। 

छलफलमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, परिसंघ गभर्निङ काउन्सिल सदस्य शशिकान्त अग्रवाल, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा, परिसंघ युवा उद्यमी मञ्चकी अध्यक्ष प्राची अग्रवाल, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत सहभागी थिए।