काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २ वाणिज्य बैंकसहित ८ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार गर्न लागेका ती ८ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। मर्जरपछि सेयर मिलान गर्नका लागि बढीमा १५ दिन सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था गरेको छ। 

नेप्सेले भोलि असार २९ गतेदेखि लागू हुने गरी लक्ष्मी बैंक र सनराइज बैंक र असार ३० गतेदेखि लागू हुने गरी नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। मर्जरपछि लक्ष्मी र सनराइज बैंकले ‘लक्ष्मी सनराइज बैंक’को नामबाट भोलिबाट तथा नेसनल र समिट लघुवित्तले ‘नेसनल लघुवित्त वित्तीय संस्था’को नामबाट पर्सिबाट एकीकृत कारोबार सुरु गर्दैछन्। 

यसैगरी असार २९ गतेबाट लागू हुने गरी नेप्सेले प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ। प्रभु लाइफ र महालक्ष्मी लाइफले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। 

यसैगरी राष्ट्र उत्थान लघुवित्त सेयर नेप्सेले असार ३१ गतेदेखि लागू हुने गरी रोक्का गर्ने निर्णय गरेको छ। राष्ट्र उत्थान लघुवित्तलाई आशा लघुवित्तले प्राप्ति गरी असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। 

नेप्सेले असार ३१ गतेबाटै लागू हुने गरी विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पूरा गरी असार ३१ गतेबाट विजय लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्नेछन्।