– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन्। 

सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ। तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ। 

त्यसैले ‘मेरो सेयर’ आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने यकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन्। जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन्।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनेको छ। ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन्।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ। प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या रही नै राखेको देखिन्छ। 

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७–७८ मा क्लोजआउटबापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी तिरेका थिए। अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने क्लोजआउटबापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवनास्वरुप तिरेका थिए। 

गत आर्थिक वर्ष २०७९–८०मा भने लगानीकर्ताले तिर्ने क्लोजआउटबापत जरिवना आधाभन्दा बढीले घटेको सीडीएससीको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षमा लगानीकर्ताले समयमै ईडीआईएस नगर्दा २० प्रतिशत जरिवनास्वरुप ४ करोड १७ हजार रुपैयाँ तिरेका छन्। यो रकमको २५ प्रतिशत आकस्मिक जरिवना कोषमा जाने गर्छ भने बाँकी किन्ने लगानीकर्तालाई ब्रोकरहरुले दिने गर्छन्। 

कोहिनुर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)का सञ्चालक भरत रानाभाट क्लोजआउटको रकम घट्नुको पहिलो कारण गत आर्थिक वर्षमा सेयर कारोबार पनि सुस्ताउनु नै रहेको बताउँछन्। ‘दोस्रो कारण भनेको लगानीकर्ता पनि सचेत बन्दै गएका छन्’, उनले भने, ‘पहिले सेयर नै भौतिक हुने भएका कारण समयमै राफसाफ नहुँदा क्लोजआउट हुने गथ्र्यो। तर, अहिले अभौतिक हुँदा पनि क्लोजआउट हुनु भनेको मानवीय र सिस्टम दुवैको गल्ती हुन सक्छ।’
रानाभाट खासगरी नाबालक र नयाँ लगानीकर्तामा बढी क्लोजआउटको केस रहेको बताउँछन्। 

कसरी सकिन्छ जोगिन ?

खासगरी क्लोजआउट हामीले सेयर बेचेपछि समयमै ईडीआईएस (सेयर हस्तान्तरण) नगर्दा तिर्नुपर्ने जरिवाना हो। अहिले सीडीएससीले टी प्लस वानको सेटलमेन्ट व्यवस्था गरेको छ। यो नियमअनुसार हामीले आज सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म मेरो सेयरमा गएर सेयर हस्तान्तरण गर्नुपर्छ। अन्यथा, हामीले बेचेको सेयरको कुल मूल्यमा २० प्रतिशतले जरिवना तिर्नुपर्ने हुन्छ। तर, हामी तोकिएको समयमै बेचेको सेयर हस्तान्तरण गर्यौँ भने क्लोजआउटबाट बच्न सक्छौँ। 

सबैभन्दा पहिले हामीले मेरो सेयरमा भएको ब्यालेन्सअनुसार नै सेयर बेच्ने गर्नुपर्छ। टीएमएसमा भएको डीपी होल्डिङमा यथार्थ रेकर्ड नहुन सक्छ। अहिले क्लोजआउटमा पर्नुको मुख्य कारण टीएमएको डीपी होल्डिङको त्रुटि नै हो। यसै त्रुटिलाई लगानीकर्ताले ख्याल नगर्दा धेरै लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको देखिन्छ।

दोस्रो भनेको यदि हामीले ठूलो कारोबार गर्छौं भने दैनिक एउटा नोट बनाउने गरौँ। हरेका दिन दिउँसो ३ बजेपछि आफ्नो नोटमा बेचेको सेयरको हिसाब राखौँ र सोही दिन साँझ ६ बजेपछि तुरुन्त ईडीआईएस गर्न नभुलौँ। जसरी सेयर किनबेच गर्ने हाम्रो काम हो, त्यसरी नै ईडीआईएस गर्ने काम पनि याद गरौँ। 

तेस्रो भनेको आफ्नो ब्रोकरलाई चुस्तदुरुस्त राखौँ। आफ्नो हरेका कारोबारको मोबाइलमा अनिवार्य म्यासेज पठाउन ब्रोकरलाई आग्रह गरौँ। यदि हामी विदेशमा छौँ भने अनिवार्य आफ्नो कारोबारलाई ई–मेल गर्न लगाऔँ।