काठमाण्डौ । महँगी अझै ८ प्रतिशतको हाराहारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ। 

नेपाल राष्ट्र बैंकले आज यस्तो तथ्यांक सार्वजनिक गरेको हो। जसअनुसार महँगी अझै उच्च रहेको देखिएको हो। 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.४२ प्रतिशतले विन्दुले बढी हो। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो।

वस्तुको मूल्य बढ्नु र पैसाको मूल्य (क्रयशक्ति) घट्नु नै मुद्रास्फीति हो। यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। 

राष्ट्र बैंकको तथ्यांक हेर्दा हरेक क्षेत्रमा महँगी बढेको छ। २०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९–८० मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ।

यसका साथै गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ।