काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रुपमा भएमात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरेका छन्। 

राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यकारिणी समितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका हुन्। उनले भने, ‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ।’

नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे। 

राष्ट्रपति पौडेल उद्योगीव्यवसायीहरुले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पारे। ‘रोजगारी सिर्जना हुन नसक्नु, विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेलाबेलामा विध्न बाधा देखा पर्ने गरेका छन्’, उनले भने, ‘यसैले गर्दा मूल्यवृद्धिलगायत साना र मझौला उद्योग समस्याग्रस्त हुँदै जाने यो अवस्थामा निजी सार्वजानिक साझेदारी वाञ्छनीय छ भन्ने मलाई लाग्छ।’

राष्ट्रपति पौडेलले नेपालमा रोजगारी सिर्जना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए। ‘धेरै राजनीतिको तानावानामा नअल्झीकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु’, उनले भने। 

राष्ट्रपति पौडेलले महासंघसँग पहिले नै भेट्न चाहेकोमा हाल स्वास्थ्य सुधार भएकाले भेट केही ढिला सम्भव भएको बताए। 

भेटमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि आमनागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए। उनले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेको अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले आपसमा सहकार्य गर्नुपर्नेमा जोड दिए। 

सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैंक तथा वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको ढकालले बताए। यस्तो अवस्थामा पुँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको उनको धारणा थियो। 

‘व्यवसाय सतप्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ तर व्यवसाय दुई तिहाइ खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो बर्षभन्दा कम राजश्व संकलन भएको छ’, ढकालले भने, ‘यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत बिन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ। त्यसैले पुँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्छ।’ 

अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन गर्न, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवर्द्धन विशेष पहल आवश्यक रहेको पनि बताए।