काठमाण्डौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण उत्पन्न भएको बैंक ब्याजदर लगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र समस्यामा फसेको बताएका छन् । 

मंगलबार विराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आयोजनामा प्रदेश तहका निजी क्षेत्रसँग आयोजित राउण्ड टेबल कार्यक्रममा बोल्दै अध्यक्ष राउतले चर्को लोडसेडिङ, भारतको नाकाबन्दी लगायतका राजनीतिक अस्थिरताले थलिएर केही अघि बढेको निजी क्षेत्र कोभिड–१९ को महामारी, रुस र युक्रेन युद्धबाट झनै प्रभावित बनेको बताएका हुन् । उनले यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिका कारण बैंकको व्याजदर लगायतका थप समस्याले निजी क्षेत्र नै संकटमा पुगेको र मुलुकमा आर्थिक संकट उत्पन्न भएको दाबी गरे ।

संकटका कारण अहिले अहिले ६० प्रतिशत हाराहारीमा मात्रै उद्योगधन्दाहरु संचालनमा रहेको उनको दाबी छ । उद्योगधन्दा बन्द हुने क्रममा रहेका कारण सरकारको राजश्व असुली समेत प्रभावित भएको अध्यक्ष राउतको भनाई छ । 

‘नेपालमा औधोगिकीकरणको आधुनिक इतिहास विराटनगरबाट सुुरु भएको मानिन्छ, त्यसको प्रस्थानविन्दु विराटनगर जुट मिलको स्थापना नै हो’ अध्यक्ष राउतले भने, ‘त्यसपछि खुलेका उद्योगधन्दाले विराटनगर र आसपासका क्षेत्रको आयस्तर बृद्धि र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको छ, तर पछिल्लो पटक उद्योगी व्यवसायीले राष्ट्र बैंकको नीतिका कारण ठूलो समस्या खेप्नु परेको छ ।’

राउतका अनुसार सुनसरी–मोरङ यो औद्योगिक करिडोरमा हाल करीव ५५० वटा ठूला तथा मझौला उद्योगहरु संचालनमा छन् । यस क्षेत्रमा विशेष गरी जूट, सावुन, चाउचाउ, प्लाष्टिकका सामान, कपडा, गार्मेन्ट, जुत्ता चप्पल, सिमेन्ट, छड, कालो पाइप, इलेक्ट्रीक क्वाइल, टिन, उच्च कोटीदेखि न्यून कोटीका मदिरा, राइसमिल, तेल मिल, फिड उद्योग लगायत धेरै वस्तु उत्पादन भइरहेको छ ।

केही उद्योगहरुले आफ्ना उत्पादनलाई विदेशमा समेत निर्यात गर्न थालेको अवस्थामा बैंकहरुका कारण ठूलो समस्या झेल्नु परेको गुनासो गरेका हुन् । जसका कारण सिमेन्ट, छडजस्ता उद्योगहरु प्रतिस्पर्धा गर्न नसकेर धमाधम बन्द हुन थालेको अध्यक्ष राउतले बताए । उनले कोशी प्रदेशमा लगानीको प्रसस्त सम्भावना बोकेको क्षेत्र भए पनि अहिलेको परिस्थितिले गर्दा लगानी थपिनै नसक्ने वातावरण बनेको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त नियोगका नेपाल कार्यालय प्रमुख बाबाकोर एस फेइले नियोगले निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको बताए । 

सरकारले सार्वजनिक गरेको आर्थिक गणना २०७५ अनुसार कोशी प्रदेशमा एक लाख ६८ हजार ५१८ वटा उद्योग व्यवसाय हाल सञ्चालनमा रहेकोमा मोरङ र सुनसरीमा मात्रै ६६ हजार ७ सय ८३ वटा उद्योग सञ्चालित छन् । जहाँबाट ८८ हजार बढीले प्रत्यक्ष अप्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरेका छन् ।