काठमाण्डौ । इन्द्रजात्राका अवसरमा काठमाण्डौका विभिन्न ठाउँको यातायात आवागमन प्रभावित हुने भएकाले काठमाण्डौ महानगरपालिकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। 

महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो। इन्द्रजात्रा (यँया) पर्वबाट आज मंगलबारबाट सुरु भएको छ। 

काठमाण्डौको वसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरु भइसकेका छन्। यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप हिँडेर सञ्चालन गरिन्छन् । यी क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारीसाधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउन महानगरले आग्रह गरेको छ। 

असोज ११ गते बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरुहुँदै बसन्तपुरसम्म रथयात्रा हुने हुँदा ती क्षेत्रमा यातायात आवागमन प्रभावित हुने महानगरले जनाएको छ। यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न महानगरले आग्रह गरेको छ। 

त्यस्तै असोज १५ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेछ। यस दिन महिलाले रथ तान्ने महानगरपालिकाले जनाएको छ।