काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको दोष अरुलाई पन्छाउन नमिल्ने बताएका छन् । उनले मुलुकको अर्थतन्त्रको दिशा तय गर्ने काम जननिर्वाचित नेताहरूबाट नै हुनुपर्ने कुरामा पनि जोड दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद वाग्लेले सरकारले अर्थतन्त्र सुधारका लागि बजेटमा गरेका व्यवस्था कार्यान्वयनमा ध्यान दिन नसकेको पनि बताए । साथै उनले एक महिनामै गर्छु भनेर बजेटमा व्यवस्था गरिएका कुरा सरकारले चार महिनासम्म पनि नगरेको बताए ।
‘सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्छु भनेपनि गत साल २ प्रतिशतभन्दा कम रहेको थियो र यसपालि पनि साढे ३ प्रतिशत ननाघ्ने अवस्था आएको छ । विदेशबाट आएको विप्रेषण, पर्यटक र निजी क्षेत्रले गरिदिएको लागानीका कारण जलविद्युत्, पर्यटन र रेमिट्यान्समा केही सुधार देखिएपनि सरकार आफैंले गर्नुपर्ने कामहरूमा धेरै प्रगति भएको छैन । कसिलो आयात र मौद्रिक नीतिले गर्दा सोधनान्तर अवस्था केही सुध्रिएको देखिए पनि सरकार आफैले गर्छु भनेका कामहरू कत्ति पनि नगरेकोमा म ध्यानाकर्षण गर्न चाहन्छु’,उनले भने।
उनले भने, ‘बजेटको दफा २९ देखि दफा ५२ सम्मका बुँदाहरूमा धेरै कुराहरू असारसम्म गरिने भनिएको थियो केही कुराहरू साउनसम्म गर्छु भनिएको थियो । असोजसम्मका कुनै म्याद पूरा भएका छैनन् । हामीले अर्थमन्त्रीलाई शंकाको लाभ दिएकै हो, जेठ १५ मा । तर त्यो काम भएको छैन । ५२ नम्बरको बुँदामा रहेको सरकारी निकायमा रहेका पुराना सवारी साधनलगायतका सामानहरू ६ महिनाभित्र लिलाम गरिनेछ भनिएको छ । ४ महिना गइसक्या छ, बाँकी २ महिनामा यो सारा संकट पूरा गर्नुहुन्छ भन्ने मलाई लागेको छैन ।’
राष्ट्र बैंकका नीतिका कारण मुलुकको अर्थतन्त्र अगाडि बढिरहेको पनि वाग्लेको भनाइ थियो । उनले राष्ट्र बैंकका नीतिको आफूले स्वागत गर्ने पनि बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19