काठमाण्डौ । काठमाण्डौका विभिन्न क्षेत्रमा आउँदो कात्तिक ४ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो। काठमाण्डौ ग्रिड महाशाखाअन्तर्गत लैनचौरस्थित ६६÷११ केभी सबस्टेसन स्तरोन्नति भइरहेकाले आउँदो कात्तिक ४ गतेसम्म त्यस सबस्टेसनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ। 

लैनचौर सबस्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ। त्यसैले ती क्षेत्रमा विद्युत् सेवा केही दिन प्रभावित हुने प्राधिकरणले जानकारी गराएको छ।