काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का उपाध्यक्ष राजेश उपाध्यायले राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

सिबिफिन र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा उपाध्यक्ष उपाध्यायले यस्तो धारणा राखेका हुन्। ‘विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि नेपाल सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्छ’, उनले भने, ‘मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्छ।’ 

कार्यक्रममा गत वैशाख २४ गते सम्पन्न नेपाल बिजनेस समिट–२०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेख लेखन प्रतियोगिताका विजेता पत्रकारलाई पुरस्कृत गरिएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालबाट सार्वजनिक गरिएको प्रतिवेदनमा समिटको दौरान भएका विषयगत बहससत्रका सुझाव तथा निष्कर्ष र समिटमा सहभागी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, प्रतिनिधिसभाका सदस्यहरु, गभर्नर, सचिव, विभिन्न संघ–संस्थाका प्रतिनिधि, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यबद्धतासमेत समेटिएको छ। 

मन्त्री रिजालले यस प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालालाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको बताए। आर्थिक जगतका विविध विषयहरुलाई उजागर गर्दै सरोकारवालालाई झक्झकाउँदै आएका पत्रकारहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले सत्यतथ्य र खोजमूलक पत्रकारितामार्फत राष्ट्र निर्माणको अभियानमा पत्रकार जगतले अझ सशक्त रुपमा कलम चलाउँदै सहयोग गर्ने अपेक्षा व्यक्त गरे। 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा प्रकाश पारे। नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले आर्थिक पत्रकारहरुलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गरेकोमा सिबिफिनप्रति धन्यवाद व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई यसैगरी उत्प्रेरित गरिनुपर्नेमा जोड दिए। 

कार्यक्रमको विषयमा नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरेले प्रकाश पारेका थिए।