काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको संकट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी रहेको बताएका छन् ।

उनले मुलुकको अर्थतन्त्र संकटमा रहेको बताउँदै अर्थतन्त्रलाई संकट समाधान गर्न सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर महासम्मेलन गर्न जरुरी रहेकोमा जोड दिए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले, ‘तथ्यांकले देशको अर्थतन्त्र संकटमा छ भन्ने देखाउँछ । समस्या दिनदिनै विकराल बन्दै गएको छ तर सरकार बेखबर छ । सरकारले निर्माण सम्पन्न भएको आयोजनाको भुक्तानी दिन सकेको छैन । अर्थतन्त्रको संकट समाधान गर्न सरकार असफल भएको छ ।’

उनले सरकारले भैरहवा, पोखरा विमानस्थल सम्पन्न भएका आयोजना सञ्चालन गर्न नसकेको आरोप समेत लगाए ।

मुलुकमा सुन तस्करी बढेका बेला धेरै मेहनत गरेपछि जाँचबुझ आयोग बनाएको तर त्यो अनुसन्धानमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नचाहेको बताए ।