काठमाण्डौ । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को शनिबार बिहान बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय पनि कर्णाली सरकारले गरेको छ। 

यसैगरी बैठकले प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय गरेको छ। उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने र आवश्यकताअनुसार बजेट खर्च गरेर शोधभर्ना गर्नेगरी बजेट खर्चसम्बन्धी व्यवस्था मिलाउने निर्णय कर्णाली सरकारले गरेको छ। 

प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरबेसमा रहेको हेलिकोप्टरमार्फत चिकित्सक पठाउने र घाइते ल्याउने काम पनि भइरहेको जनाएको छ।