काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले आउँदो २ वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्। उनले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन्।

शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडितलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै १ करोड रुपैयाँबराबरको सहयोग जम्मा भएको छ। जुम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे। उनले तीनै तहका सरकारसँग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपालीलाई सक्दो सहयोग गर्न आफूहरुले काम गर्ने बताए।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठ ‘रोविन्द’ले ३ लाख, कृष्ण जीबी पन्थले २ लाख १११ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  

त्यस्तै उपाध्यक्ष डा केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव दयानिधि सापकोटाले जनही १ लाख रुपैयाँ प्रदान गर्ने जनाए। 

एनआरएनए आईसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबारसम्ममा बैंक खाता खोली सबैलाई जानकारी गराउने बताए। 

कार्यक्रमको सञ्चालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिँदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए। भूकम्पपीडितहरुका लागि संसारभरिका एनआरएनहरुबाट सहयोग आउने क्रम जारी छ।