काठमाण्डौ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १ हजार ४३८ मेगावाट रेकर्ड गरिएको छ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १ हजार ४३८ मेगावाट पुगेको रेकर्ड भएको जनाएको छ। गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो।

तिहारमा उद्योग–कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको हो। यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १ हजार ३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो। लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो।

प्राधिकरणका अनुसार देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात पनि गरिएको छ। गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो।

लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युतको माग १ हजार ९५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमान्ड १७११ मेगावाट थियो।

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाण्डौ उपत्यकाको पिक डिमान्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष ३४२ मेगावाट थियो।