-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका  अध्यक्ष रमेश कुमार हमालले आजभोलि पीएसओ अर्थात् पर्सनल सेक्युरिटिज अफिसर  लिएर हिंडने गरेको  खुलेको छ । 

बजार घटेर तनावमा रहेका लगानीकर्ताहरुले जहाँ भेट्यो त्यहीं आफूलाई घेर्न थालेपछि जोगिनका लागि उनले यस्तो जुक्ति अपनाएका हुन्। 
यसअघिका कुनै पनि बोर्ड अध्यक्षले नलिएको सेवा सुविधा र शक्तिको आडमा हमालले लिएका छन् । धितोपत्र बोर्डकै एक उच्च अधिकारीका अनुसार

यसअघि राजधानीमा  स्वयं धितोपत्र बोर्डले आयोजना गरेको लगानीकर्ता सप्ताह कार्यक्रममा पनि उनै हमाल लुक्दै र भाग्दै हिंडेका थिए । उक्त कार्यक्रममा पनि लगानीकर्ताले उनलाई घेरेका थिए । लगानीकर्ताले घेरेर प्रश्न सोध्न थालेपछि उनका पीएसओले लगानीकर्ता र पत्रकारलाई पन्छाएका थिए ।बोर्ड अध्यक्ष हमाल भने लगानीकर्ताहरुसँग तर्केर हिंड्दै थिए । 

धितोपत्र बोर्डमा पनि अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । पहिले  गेट्मा मात्रै तैनाथ हुने सुरक्षाकर्मीहरु अहिले बोर्डको मुल ढोकामा नै बस्ने गरेका छन् । यसरी सुरक्षा व्यवस्था कडा पारिनु र पीएसओ नै लिएर हिंड्नु हमालको बाध्यता भएको बोर्डका अर्का एक जना अधिकारी बताउँछन् । किनकि सबैतर्फ कमिसनको लेनदेन छ ।

बजार घटेर लगानीकर्ता निकै तनाबमा छन् । तर हमाल भने धेरैजसो समय देश बाहिर नै हुन्छन् । देश भित्रै रहेता पनि उनी खासै धेरै समय कार्यालयमा बस्दैनन् । बोर्डका कर्मचारीहरुका अनुसार केही समय पहिले  अध्यक्ष हमाललाई भेट्न नेपाली काँगेसका सभापति शेर बहादुर देउवाका प्रतिनिधि धितोपत्र बोर्डमा नै आएका थिए ।

केही समय पहिले त देउवा प्रधानमान्त्री हुँदाका महान्याधिवक्ता हमाललाई भेट्न बोर्डमा नै आएका थिए । नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारी भन्छन्, ‘यसले प्रष्ट हुन्छ कि बोर्ड अध्यक्ष हमालको राजनीतिक कनेक्सन कति छ ? र उनले कसको लागि काम गरिरहेका  छन् भन्ने ।’ स्रोतका अनुसार अध्यक्ष हमालको कनेक्सन काँग्रेसमा मात्रै नभएर प्रतिपक्ष पार्टी नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छ ।

खासगरि राजनीतिक वृतिमा राम्रो पँहुच बनाएका हमालले अहिले भने एक व्यापारी दीपक भट्ट र देउवा पत्निका लागि राम्रै काम गरेको स्रोत बताउँछ ।
अबको करिब ४० दिन पछि उनको कार्यकाल सकिदैछ ।