काठमाण्डौ।चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । 

कम्पनीले राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो ।

कम्पनीको नेपालस्थित सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीका प्रतिनिधिको उपस्थितिमा सिंहदरबारमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।

कम्पनीले ती राहत सामग्रीहरू विपद्बाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण हुने बताएको छ ।
 

कम्पनीले भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४÷७ नेटवर्क सेवा प्रदान गर्न समर्पित रहेको पनि बताएको छ।

कम्पनीले तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको बताएको को छ।

राहत सामग्री हस्तान्तरणपछि कम्पनीका नेपालस्थित सीईओ ह्वाङ जुनले सञ्चार पूर्वाधारहरू सञ्चालन गर्न, उद्धार र राहतको समन्वयलाई सहज बनाउन कम्पनीले निरन्तर सहयोग गर्ने बताए । यसैगरी,मन्त्री शर्माले नेपालको दूरसञ्चार क्षेत्रमा हुवावेईले गरेको योगदानको कदर गर्ने बताइन् ।
 

साथै कम्पनीले प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहत प्रयासहरूसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहत तथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेको छ ।