काठमाण्डौ । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले बिहीबारदेखि सेवा प्रारम्भ गरेको छ । 

प्रमुख अतिथि एवं नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले एक समारोहका बीच माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको समुद्घाटन गरेका हुन् । 
सो अवसरमा उनले धितोपत्र बजारको विकास र विस्तारको लागि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्ने  आशा आफूले गरेको बताए ।

उनले धितोपत्र बजारमा नयाँ सेक्युरिटिजको रुपमा उदय भएकोमा स्वागत गर्दै लगानीकर्ताहरुमा धितोपत्र कारोबारको विश्वसनीयता बढाउँदै आगामी दिनमा कार्य सफलताको कामना गरेका थिए ।

काठमाण्डौको जमलस्थित नेपाल चेम्वर भवनमा कार्यालय रहने गरि माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले औपचारिक रुपमा कार्य शुभारम्भ गरेको हो । 
यसैगरी, माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष एंव गैरआवासीय संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले धितोपत्र बजारमा कारोबार गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडले माछापुच्छ्रे बैंकले जस्तै देशको आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले असल संस्थागत सुशासन, पुर्वाधार तथा नियमन व्यवस्थाहरुको पूर्ण परिपालना हुने गरि व्यवसायिक, पारदर्शि र विश्वसनीय तरिकाले धितोपत्र बजारको सेवा प्रदायकको रुपमा कार्य गर्नुपर्ने बताए । 

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।