काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको  कुनै पनि प्रकारको सेयर खरिदबिक्री गर्न नपाउने’ व्यवस्था संशोधन गर्न पनि चेम्बरले ध्यानाकर्षण गराएको छ। 

मंगलबार अर्थ मन्त्रालयमामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको  पदाधिकारी  टोलीले मंगलबार अर्थसचिव कृष्णहरि पुष्करसँग भेट गरी धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका अव्यवहारिक भएको बारे ध्यानाकर्षण गराएको हो ।

कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सृजना हुने अध्यक्ष राजेन्द्र मल्लले बताए ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’