काठमाण्डौ। बीमा कम्पनीहरुले प्रिमियममा सेयर जारी गरेको विषयमा लेखा समितिले नेपाल धितोपत्र बोर्ड तथा नेपाल बीमा प्राधिकरणका पदाधिकारीसँग छलफल गरेको छ ।

छलफलका क्रममा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मापदण्ड पुगेका कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने जवाफ दिएका छन् ।


साथै उनले कुन कम्पनीले प्रिमियमा आईपीओ जारी गर्न पाउने, कुन कम्पनीले नपाउने भनेर क्षेत्रगत रुपमा नछुट्याइएको तर प्रिमियममा सेयर जारी गर्न बोर्डले तोकेको मापदण्ड पूरा गरेका कम्पनीले पाउने बताए ।

प्रिमियमा आईपीओ जारी गर्दा लाभकर छली हुने तर्क गलत रहेको उनको भनाइ थियो ।

यसैगरी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको कारोबारको नियमन आफूहरुले गर्ने तर आईपीओ जारीका लागि मापदण्ड पुगे नपुगेको हेर्ने काम धितोपत्र बोर्डको हुने बताए ।

उनले कम्पनी ऐनको दफा २९ अनुसार बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सेयर निष्कासनका लागि सैद्धान्तिक सहमति दिने तर प्रिमियममा आईपीओ दिने कि नदिने भन्ने अधिकार धितोपत्र बोर्डकै हुने बताए ।


छलफलका क्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालको खोजी भएको थियो । तर विना जानकारी हमाल अनुपस्थित भएको भन्दै समितिले खेद प्रकट गरेको छ ।

छलफलमा सांसद हरि ढकाल, अमरेशकुमार सिंह,अर्जुन नरसिंह केसी, योगेश भट्टराई र मनिष झाले प्रिमियम मूल्यको आईपीओमा स्वार्थ बाझिने रेटिङ स्वीकृत गरेको भन्दै बोर्डको आलोचना गरेका थिए।

बोर्डका अध्यक्ष हमाल भने बुधबारदेखि विदामा बसेका छन् ।उनको कार्यकाल आगामी पुस २० गते सकिदै छ ।