काठमाण्डौ । तिहारपछि खुलेको बजारमा उत्साह देखिएको छ । तिहार विदा सकेर सबै लगानीकर्ता बजारमा आइनसकेको अवस्थामा समेत नेप्से परिसूचक ३.५७ अंकले बढेको छ भने कारोबार रकम पनि सन्तोषजनक विन्दूमै छ ।

चुनाव नहुने अन्यौल हटेर उम्मेद्वारी दर्ता भइसकेको अवस्थामा राजनीतिले आगामी दिनमा बजारको वृद्धिलाई थप टेवा दिनेछ । 

विश्लेषकहरुले बजारमा लाभांश घोषणा र साधारणसभाको ज्वरो दिनहुँ बढिरहेको तथा लामो समय पर्ख र हेरको रणनीतिमा रहेको ठूला लगानीकर्ता पनि अब बजारमा आउनसक्ने भन्दै बजार बढ्नसक्ने विश्लेषण गरेका छन् । चुनाव नहुने अन्यौल हटेर उम्मेद्वारी दर्ता भइसकेको अवस्थामा राजनीतिले आगामी दिनमा बजारको वृद्धिलाई थप टेवा दिनेछ । राजनीतिमा सुधार भएसँगै तरलताको अवस्था निकै सहज बनेको, बैंकहरुले सेयर धितो कर्जाको ब्याजदर समेत घटाउन थालेका, पहिलो त्रैमासको रिपोर्ट धमाधम आएसँगै यसबाट आगामी वर्ष सम्बन्धित कम्पनीले दिनसक्ने लाभांशको कच्चा नै भए पनि आँकलन गर्न सकिने जस्ता कारणले आगामी दिन बजारले उकालो यात्रा समात्ने विश्लेषकहरुको दाबी छ । 

नेप्से परिसूचक आइतबार बढेर १५७१.९२ विन्दूमा पुुग्यो । यो दिन बैंक तथा बित्तीय संस्थाले बजारमा सकारात्मक तरंग ल्याउन महत्वपूर्ण भूमिका खेले । जलविद्युत समूहको योगदान पनि बजार वृद्धिमा महत्वपूर्ण नै रह्यो । यो दिन बैकिङ समूह ३ अंकले बढ्यो भने विकास बैंक समूह २.४५ अंकले उक्लियो । बित्त समूहमा ५.८४ अंकको बढोत्तरी देखियो । यस्तै, जलविद्युत समूहको सूचक १३.४८ अंकले बढ्यो । अन्य समूह १०.४१ अंकले वृद्धि भयो । बजारमा ट्रेडिङ, होटल र बिमा समूहमा क्रमशः ०.१६, ४६.५३ र ११.११ अंकको पहिरो गयो । 

‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स ०.९ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३३ अंकको बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
साताको पहिलो कारोबार दिन बजारमा १ सय ४६ कम्पनीका ८ लाख ७२ हजार ३ सय ३० कित्ता सेयर ३६ करोड ९३ लाख ८८ हजार ८ सय ६६ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी चिलिमे हाइड्रो पावर कम्पनी लिमीटेडले ४ करोड ८६ लाख बढीको कारोबार गर्यो । यस्तै, बुटवल पावर कम्पनी लिमीटेडले २ करोड ३९ लाख कारोबार भएको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५४ लाख बढी संस्थापक सेयर समेत किनबेच भयो । छिमेक लघुवित्त विकास बैंकले १ करोड ५० लाख,एनआइसी एशियाले १ करोड २४ लाख, प्राइम कमर्सियल बैंकले १ करोड १४ लाख, सिभिल बैंकले १ करोड ७ लाख, एनसीसी बैंकले ९५ करोड बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा धेरै अरुण काबेली पावर लिमीटेडका सेयरधनले कमाए । यो कम्पनीको मूलय ६.६९ प्रतिशतले वृद्धि भयो । जेबिल्स फाइनान्सका सेयरधनीले ५.८० प्रतिशत र वरुण हाइडोपावरले ५.२६ प्रतिशतले सम्पत्ति कमाए । 

यो दिन सिन्धुु विकास बैंकका सेयरधनीले सबैभन्दा बढी ३.०१ प्रतिशतले सम्पत्ति गुमाए ।