काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले आम लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीको व्यग्रताका साथ प्रतिक्षा गरिरहेको बेला अचानक नेपाल स्टक एक्सचेञ्जबाट मिति पछि धकेलिएको भन्दै आपत्ति जनाएको छ । 

फोरमले मंगलबार एक विज्ञप्ति जारी गर्दै अनलाइन कारोबार प्रणाली २०७४ कात्तिक २१ गतेदेखि संचालनमा ल्याउने निर्णय भएकोमा एकाएक त्यसको मिति पछाडि सारिएको भन्दै यसबाट आम लगानीकर्ताको विश्वासमाथि गम्भीर चोट पुुगेको बताएको हो ।

‘यसरी पूर्व घोषित मिति बमोजिम नियमनकारी निकायहरूको निर्णय कार्यन्वयन नहुने हो भने यसले पुँजी बजार विकास र विस्तारमा बाधा पर्ने देखिएको हुँदा शीघ्र अनलाइन कारोबार प्रणाली संचालनमा ल्याउन जोडदार माग गर्दछ ।’ फोरमका अध्यक्ष अम्बिका पौडेलबाट जारी विज्ञप्तिमा भनिएको छ।

फोरमले ब्रोकरहरूलाई मार्जिन कारोबार उपलब्ध गराउने सम्बन्धमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई यथाशीघ्र निर्देशन दिन तथा आस्वा लागु भएका देशभरका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरूबाट शेयर लिलामी प्रक्रियामा सहभागी हुन पाउने ब्यवस्था मिलाउन समेत माग गरेको छ । 

फोरमले नेपाल धितोपत्र बोर्डले हकप्रद शेयरको आवेदनमा आस्वा प्रणाली अवलम्बन गर्ने र हकप्रद शेयरको लिलाम बढाबढबाट बिक्री गर्नका लागि उपत्यका बाहिरका केही सहरहरूबाट समेत गर्न सकिने व्यवस्था गरिएकोमा खुशी व्यक्त गरेको छ । यस्तै, हालै मात्र नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीहरू मार्फत लगानीकर्ताहरूमा मार्जिन कारोबारको सुबिधा उपलब्ध गराउने निर्णय गरिएको र नेपाल स्टक एक्सचेन्जले विकास बैंक र लघुवित्त विकास बैंकको उपसुचकहरू फरक–फरक बनाई पारदर्शी बनाउने निर्णय गरेकोमा त्यसलाई समेत स्वागत गरेको छ ।