काठमाण्डौ । निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भई बाम गठबन्धनले अभूतपूर्व सफलता हासिल गरिरहँदा बजारमा सेयर किन्नेहरु सलबलाएका देखिएको छ । सेयर खरीदसँगै बिक्रीकर्ताको समेत उत्तिकै चाप रहँदा नेप्से परिसूचक भने ६.०५ अंकले घटेको छ ।
बजार परिसूचकमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने बढेर ८४ करोड ७० लाख माथि पुुगेको छ । नेप्से परिसूचकको झिनो गिरावटको बाबजुद कारोबार रकम निकै माथि रहेकोले बजार भविष्यमा बढ्नसक्ने बलियो संभावना देखिएको छ ।
सत्प्रतिशत बोनस घोषणा गरेको स्ट्याण्डर्ड चार्टर्डको सेयरमा लगानीकर्ता बढी झुम्मिएका छन् । यहीकारण यो कम्पनीले २७ करोडको हाराहारीमा कारोबार गर्यो ।
प्रतिनिधिसभा निर्वाचनको मतपरिणामअनुसार अब बाम गठबन्धनले बहुमतको सरकार बनाउने प्रष्ट अवस्था देखिइसकेकोले स्थिर सरकार बन्ने र त्यसले समृद्धि र विकासको युुग सुरु गर्ने विश्वास गर्न सकिन्छ । लामो समयको संक्रमणकालको अन्तसँगै देशको अर्थतन्त्रले समेत काचुली फेर्ने भएकोले सेयर बजारमा लगानी गर्नेहरु समेत मालामाल बन्नसक्ने अवस्था आउनसक्छ । यहीकारण समेत बजारमा लगानीकर्ताहरु उत्साहित भई सक्रिय बने भने बजारले उछालको बाटो समात्न सक्ने विश्लेषकहरु बताउँछन् ।
तर, कतिपयले भने बामगठबन्धनको हाउगुजी कतिपय लगानीकर्तामा कायमै रहेका कारण अब बन्ने सरकार र त्यसले लिने आर्थिक नीतिले बजारको भविष्य निर्धारण गर्ने बताएका छन् । चुनावी अभियानको क्रममा एमाले नेता केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आफूहरुले सेयरबजारमैत्री नीति ल्याउने र लगानीकर्ता कम्युनिष्टहरुबाट अत्तालिनुपर्ने अवस्था नरहेको प्रष्टीकरण पटक पटक दिइसकेकोले बजार नबढी सुखै छैन ।
के-के भयो बजारमा ?
साताको पहिलो कारोबार दिन आइतबार उत्पादनमूलक र अन्य बाहेक सबै समूहको सूचक घटेको छ । उत्पादनमूलक ४०.२४ अंकले बढेको छ भने अन्य समूहमा २.०३ अंकको बढोत्तरी देखिएको छ ।
यस्तै, बैकिङ समूह ३.७९ अंकले घटेको छ । होटल समूह १४.७८, विकास बैंक समूह ५.४७ अंक, जलविद्युत समूह १३.७२, बित्त समूह ८.४५, बिमा समूह ७२.८२ र माइक्रोफाइनान्स समूह २०.३४ अंकले घटेका छन् ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १.०५ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६१ अंकको गिरावट देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका १२ लाख १२ हजार ७ सय ८० कित्ता सेयर ८४ करोड ७० लाख ७० हजार ८० रुपैयाँमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले २६ करोड ९७ लाख बढीको कारोबार गर्यो । यो बैंकले सतप्रतिशत बोनस सेयर वितरणको घोषणा गरेका कारण धेरै लगानीकर्ता यसतर्फ आकर्षित भए ।
यो दिन बुटवल पावर कम्पनीले ५ करोड ३६ लाख, नेपाल टेलिकमले ३ करोड ९५ लाख, नेपाल बैंकले २ करोड ५७ लाख, चिलिमे हाइड्रोले २ करोड ५१ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सूूर्य लाइफ इन्स्योरेन्सले १ करोड ३५ लाख, नेपाल लाइफले १ करोड २३ लाख, एभरेष्ट बैंकले १ करोड २३ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बोटलर्स नेपाल(तराई) लिमीटेडका सेयरधनीले पैसा छापे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । महुली सामुदायिक लघुवित्त संस्था, नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले समेत ४ प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए ।
यो दिन सेन्टल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । लक्ष्मी लघुवित्त बित्तीय संस्था लिमीटेडले ५ प्रतिशतको हाराहारीमा गुमायो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago