काठमाण्डौ । लगानीकर्ताको अपेक्षा अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारको अहिलेको समस्यालाई तत्काल समाधान गर्ने कुनै पनि संकेत गरेनन्, तर पूँजीबजारमा सुधार गर्नुपर्ने पक्ष प्रस्तुत गर्दै बजारको समस्या र इण्डेक्समा भइरहने तीव्र उतारचढावको कारण समेत खुट्याउने प्रयास गरे ।
उनले पूँजी बजार सतही रहनुको साथै दायरा संकुचित रहेको उल्लेख गर्दै बजारमा ठूलो परिमाणको स्वलगानी परिचालनका लागि संस्थागत र नीतिगत सुधारको आवश्यकता औंल्याए । यसको अर्थ अर्थमन्त्री डा. खतिवडा पूँजीबजारको सुधार, बिस्तारको पक्षमा रहेका बुुझ्न सकिन्छ । यसअघि पूँजीबजारलाई अनुत्पादक क्षेत्रको लगानीसम्म भ्याएका उनी श्वेतपत्रमा भने केही सम्हालिएका देखिएको छ ।
अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको श्वेतपत्रको मुख्य बुँदा प्रस्तुत गर्दै उनले पूँजी बजारको कुल कारोबारमा बित्तीय संस्थाहरुको अंश ८१ प्रतिशत रहेको उल्लेख गर्दै यसले पूँजी बजारमा उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थिति ज्यादै न्यून रहेको तथ्य उजागर हुने प्रष्ट्याए ।
‘अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजीबजार सशक्त माध्यम भएतापनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको छ ।’ पूँजीबजारको बिस्तारको संभावनाको बिषयमा चर्चा गर्दै उनले थपे–‘पूँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न सकिएको छैन । समग्रमा पूँजीबजारमार्फत ठूलो परिमाणको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ ।’
उनले सेयर बजारको तत्कालको समस्याको कारण समेत केलाउने प्रयास गरेका छन् । संस्थागत लगानीकर्ताको न्यूनता र बित्त बजारमा तरलताको अभावसँगै बढ्दो ब्याजदर र शेयर निश्कासन तथा आपूर्तिमा भएको वृद्धिले अहिले सेयर मूल्य प्रभावित भएको उनको तर्क छ । पूँजीबजार कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव, पारदर्शिताको कमी तथा लगानीकर्ता र खासगरी साना लगानीकर्ताहरुमा सेयर लगानी सम्बन्धी ज्ञानको कमीले सेयर मूल्य मापन गर्ने नेप्सेमा उच्चदरको उतारचढाव भइरहेको उनले दाबी गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago