काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रमार्फत सेयर बजारलाई सतही र अपारदर्शी भन्दै अर्थतन्त्रको जर्जर तस्विर पस्किएपछि त्यसले बजारलाई नराम्रोसँग  प्रभावित गरेको छ । 

श्वेतपत्रमार्फत बजारको कतिपय समस्याहरु सम्बोधन हुने आशामा बसेका लगानीकर्ताहरु निराश हुँदा बजारमा बिक्रीको उच्च चाप देखिएको छ । 

आइतबार कारोबार खुलेदेखि नै घट्न थालेको बजार ३३ अंक भन्दा बढीले घटे पनि बीचमा केही सम्हालियो । तर, बजार बन्द हुँदासम्म नेप्से परिसूचक २४.०५ अंकले घटी ११९६.२४ विन्दूमा खुम्चिन पुुग्यो । 

बजारमा ‘क’ वर्गका कम्पनीहरुमा उच्च बिक्री चाप देखिएको छ । यही कारण सेन्सेटिभ इण्डेक्स ५.१९ अंकले घटेको छ।

अर्थमन्त्री डा. खतिवडाले केही समयअघिदेखि सेयर बजारको बिषयमा नकारात्मक टिप्पणी गर्दै आएका छन् । उनले सेयर बजारमा गरिएको लगानी अनुत्पादक क्षेत्रमा गरिएको लगानी सोसरह हुने भनी गरेको टिप्पणीले पहिरो जान थालेको बजारमा पछिल्लो समय विराटनगर पुुगेर उनले अहिलेको अवस्थामा बजारमा लगानी गर्नै नहुने जस्ता विवादास्पद अभिव्यक्ति समेत दिएका थिए । आफैंले दिएको अभिव्यक्तिमा अडिग हुने स्वभावका अर्थमन्त्रीले लगानीकर्ताका संघसंस्थाले आन्दोलनको चेतावनी दिएलगत्तै श्वेतपत्रमार्फत उनीहरुको माग सम्बोधन हुने गलत प्रचार गरिएको थियो । गलत प्रचारको पछि लागेका लगानीकर्ताहरुले श्वेतपत्र कुरेका थिए, तर श्वेतपत्रमा समेत अर्थमन्त्रीले बजारको बिषयमा आफ्नो पुरानो धारणालाई यथावत नै राखेपछि त्यसको प्रभाव आइतबारको बजारमा देखिएको हो । 

आइतबार के–के भयो ?
यो दिन बजारका सबै समूहको सूचक राताम्मे भयो । बिमा र जलविद्युत समूहमा सबैभन्दा धेरै गिरावट आयो । बिमा समूह १४८.७७ अंक(२.६७ प्रतिशत)ले घट्यो भने जलविद्युत समूहमा ३७.१४(२.५५ प्रतिशत)अंकको गिरावट देखियो । यस्तै, बैकिङ समूह २ प्रतिशत(२२.०१ अंक)ले घट्यो भने विकास बैंक ३६.१, माइक्रोफाइनान्स २६.२४, बित्त समूह ७.७१, होटल समूह २७.२९, उत्पादनमूलक १५ र अन्य समूह ५.६७ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका १२ लाख ८३ हजार १३ कित्ता सेयर ३१ करोड २३ लाख ९४ हजार ३ सय ७९ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ७० लाख बढीको कारोबार गर्यो । नबील बैंकले १ करोड ४४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३५ लाख, युनिलिभर नेपाल लिमीटेडले १ करोड २८ लाख, नेपाल बैंकले १ करोड ४ लाख, एनबी बैंकले ९० लाख, चिलिमे हाइड्रोले ८७ लाख, इन्भेष्टमेन्ट बैंकले पनि ८७ लाख, सानिमा बैंकले ८५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तिनाउ डेभलपमेन्ट बैंक र स्वदेशी लघुवित्तले सबैभन्दा धेरै कमाए । यी दुवै कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यो दिन एनएमबी हाइब्रीड फण्ड १ को इकाई मूल्यमा सबैभन्दा धेरै ७ प्रतिशतको हाराहारीमा गिरावट देखियो । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स,जलविद्युत लगानी तथा विकास कम्पनी र मितेरी डेभलपमेन्ट बैंकले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।