काठमाण्डौ । बजारका लगानीकर्ता फेरि सुस्ताएका छन् । सोमबार नेप्से परिसूचक ३.२८ अंकले घटेर ११९२.९६ विन्दूमा सीमित भएको छ भने कारोबार रकम घटेर साढे २० करोडको हाराहारीमा सीमित बन्न पुुगेको छ । 

कारोबार रकम र परिसूचक एकसाथ घट्नु बजारका लागि राम्रो संकेत होइन । यो प्रवृति बजारमा केही दिन निरन्तर रहे भविष्यमा बजारमा ठूलो गिरावट जानसक्ने कडीको रुपमा विज्ञहरुले बुझ्ने गर्छन् ।

अर्थमन्त्रीले प्रस्तुत गरेको श्वेतपत्रले सेयर बजारको बिषयमा थप सशंय बढाइदिएपछि र बजारलाई सतही तथा अपारदर्शी भनिएपछि त्यसले नकारात्मक प्रभाव छाडिरहेको छ । लगानीकर्ताका संघसंस्थाहरु अर्थमन्त्रीले बजार समस्याग्रस्त छ भनी स्वीकार गरिसकेको अवस्थामा आगामी बजेटमार्फत बजार सुधारका कार्यक्रम ल्याउँछन् भनेर केही नरम भए पनि सर्वसाधारण लगानीकर्ता त्यसप्रति ढुक्क बन्न सकेका छैनन् । यहीकारण बजारमा अपेक्षित सुधार हुन सकेन । 

सोमबार बित्त समूह बाहेक सबै समूहको सूचकमा गिरावट आयो, झिनो मात्र । बित्त समूह ३.४७ अंकले बढ्यो भने बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहमा क्रमशः १.९६, ३.६४, ५.२६ र २३.५८ अंकले घटे । यस्तै, होटल समूह १६.५४, जलविद्युत ६.२४, उत्पादनमूलक ३३.४८ र अन्य समूह ०.६ अंकले घटे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.६८ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१६ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका १० लाख ७० हजार १ सय ९२ कित्ता सेयर २० करोड ५९ लाख ३९ हजार ३ सय १५ रुपैयाँमा किनबेच भयो । यो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी १ करोड २३ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५ लाख, नवील बैंकले ८१ लाख बढीको कारोबार गरेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको ६७ लाख बढीको संस्थापक सेयरको समेत किनबेच भयो । यूनाइटेड इन्स्योरेन्सले ६३ लाख, चिलिमे हाइड्रोले ६२ लाख, नेपाल बैंक र इन्भेष्टमेन्ट बैंकले ६१÷६१ लख, एभरेष्ट बैंकले ५९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा स्वदेशी लघुवित्तका सेयरधनीले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्कीम–१ ले गुमायो । यो म्युचुुअल फण्डको इकाई मूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आयो ।