काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले सयौं लगानीकर्तामाथि धोकाधडी गरेको छ । यो जीवन  बिमा कम्पनीको संचालक समितिले विचारै नगरी जथाभावी लाभांश प्रस्ताव गर्दा सयौं लगानीकर्ता हिस्स पर्ने अवस्था सिर्जना भएको हो । 

यो कम्पनीको गत फागुन १४ गते बसेको संचालक समितिको १२२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । सो प्रस्तावसँगै एशियन लाइफको सेयर किन्ने समेत केही दिन बढेका थिए । बैंक ब्याजदरकै हाराहारीमा रिटर्न दिने एशियनको घोषणा नराम्रो पनि थिएन । तर, एशियन लाइफको संचालक समितिको भर परेर लगानी गर्नेहरु अन्ततः हिस्स परेका छन् । 

कारण, एशियन लाइफको सो प्रस्ताव बिमा समितिले अस्वीकृत गरिदिएको छ । लगानी तथा कर्जामा पर्याप्त व्यवस्था नभएको भन्दै बिमा समितिले एशियनको १२ प्रतिशत बोनस दिने प्रस्ताव अस्वीकार गरेपछि बैशाख १२ गते बुधबार बसेको संचालक समितिको बैठकले १२ प्रतिशत बोनसलाई संसोधन गरी ६ प्रतिशतमा झारेको छ ।

बिमा समितिले गरेको निर्देशन तथा विद्यमान व्यवस्थाको ख्यालै नगरी एशियन लाइफले १२ प्रतिशत बोनस प्रस्ताव गरेको देखिएको छ । 

‘संचालक समितिले यो जानाजान लगानीकर्ता डूबाउने खेल खेलेको हो ।’ एक लगानीकर्ताले भने –‘अधिकांश सूचिकृत कम्पनीले लाभांश प्रस्ताव गर्दा सबै कुरा विचार गर्छन, यसमा धेरै कमको मात्र पुनर्विचार हुने गर्छ । एशियन लाइफले विचारै नगरी कच्चा ढंगले बोनस प्रस्ताव गर्दा त्यसको आशामा सेयर खरीद गर्नेहरु नराम्रोसँग जिल्लिएका छन् ।’

कुनै पनि कम्पनीले लाभांश प्रस्ताव गर्दा प्राय त्यो स्वीकृत नै हुने ठानेर सेयर खरीदारी बढाउने लगानीकर्ता पनि धेरै हुने गर्छन । एशियनको कुरा पत्याएर लगानी गर्ने त्यस्ता लगानीकर्ता समेत जिल्लिएका छन् ।