काठमाण्डौ । युनिभर्सल पावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गर्ने आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड फोरको ग्रेडिङ्ग प्रदान गरेको छ । 

यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा तल रहेको भन्ने हो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ । 

युनिभर्सल पावरले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९६ करोड ६१ लाख मूल्यको आइपीओ निश्कासनको माग गर्दै जेठ १८ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ करोड मूल्यको २१ लाख ३ सय ५० कित्ता आइपीओ निश्कासनको गर्नेछ ।
कम्पनीले दोलखा जिल्लाका सर्वसाधारण(आयोजना प्रभावित क्षेत्रका बासिन्दा)का लागि २१ करोड मूल्यको आइपीओ निश्कासन गर्नेछ । त्यसपछि सर्वसाधारण लगानीकर्ताका लागि ७५ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । 

कम्पनीले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई यसअघि नै नियुक्त गरिसकेको छ । 

हाल यो कम्पनीले दोलखा जिल्लामा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजना गौरीशंकर गाउँपालिकाको वडानम्बर ५, ६ र ८ मा अवस्थित छ ।