काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजार बढ्न सकेन । यो दिन नेप्से परिसूचक २.५६ अंकले घटेर ११९१.३१ को विन्दूमा सीमित बन्न पुग्यो । यो दिन कारोबार रकम २१ करोडको हाराहारीमा सीमित बन्न पुग्यो । 

ठूला लगानीकर्ताहरुमा बजारमा थप लगानी गर्ने अनिच्छा, मौद्रिक नीतिमार्फत व्यक्तिगत ओभरड्राफ्टको सीमामा कटौति, करको अन्यौल लामो समयसम्म समाधान हुन नसकेको अवस्था, म्युचुअल फण्डहरुले दोश्रो बजारमा लगानी गर्नुको साटो मुद्धती निक्षेपमा पैसा राखी ब्याज खाँदै बस्ने प्रवृति लगायतका कारणले बजार माथि उठ्न नसकेको हो । 

विश्लेषकहरुका अनुसार लगानीकर्तामा अझै पनि डर हाबी छ । लगानीकर्तालाई भित्रभित्रै खाइरहेको डरलाई ब्रेक गर्ने कुनै ठोस घटना भए वा कारण जन्मिए मात्रै पनि बजारले यूटर्न लिई बुलिस प्रवृतिको यात्रा थाल्ने दाबी समेत गरिरहेका छन् । 

बजारका अधिकांश ब्रोकरहरुले ठूला लगानीकर्ता मानिएका मारवाडी समुदायले सेयर खरीदारीलाई ह्वात्तै घटाएका कारण बजारमा प्यानिक अवस्था देखिएको दाबी गर्छन् । उनीहरुका अनुसार पहिला पहिला एउटै व्यापारीले १ करोडसम्मको कारोबार गर्ने गरेको भए पनि अहिले पनि त्यस्ताले मुश्किलले १ लाखको सेयर समेत नकिन्ने गरेको उदाहरण दिंदै अवस्थामा तत्काल सुधार हुने खास कारण देखिन्न । 

बिहीबार बजारमा ‘क’ वर्गका कम्पनीहरुका बिक्री चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स ०.४१ अंकले घट्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.१५ अंकले घट्यो । 

यो दिन बैंकिङ समूहको उपसूचक ०.७३ अंकले बढ्यो भने उत्पादनमूलकमा १.१७ अंकको बढोत्तरी भयो । बाँकी सबै समूहको उपसूचकमा गिरावट देखियो । 

यो दिन होटल समूह २.२५ अंकले घट्यो भने विकास बैंक समूहमा ८.२७ अंक, जलविद्युतमा १.५६ अंक, बित्त समूहमा १.९६ अंक, निर्जीवन बिमा समूह ५७.३७ अंक, जीवन बिमा समूह २६.०६, माइक्रोफाइनान्स समूह १०.७२ अंक र अन्य समूह ४.३९ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका ६ लाख ७२ हजार ३ सय ६८ कित्ता सेयर २० करोड ७९ लाख २१ हजार ४ सय ७० रुपैयाँमा किनबेच भयो । 

यो दिन सानिमा माई हाइडोपावरले सबैभन्दा बढी ३ करोड २८ लाख बढीको कारोबार गर्यो । यो दिन १ करोड २१ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, ग्लोबल आइएमई बैंकले १ करोड ९ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १ करोड ९ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको ७६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५२ लाख बढीको कारोबार गर्यो । नवील बैंकले ४८ लाख बढीको कारोबार गरेको यो दिन लुम्बिनी जनरल इन्स्योरेन्सले ४७ लाख, एभरेष्ट बैंकले ३९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बेस्ट फाइनान्स कम्पनी लिमीटेडले यो दिन सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ४.०८ प्रतिशतले वृद्धि भयो । प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ३.६४ प्रतिशतले सम्पत्ति बढाए । 

यो दिन सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयरमूल्य ९.६७ प्रतिशतले घट्यो ।